मिडिया व्यवस्थापन र यसका चुनौती

- प्रेम पुन्थोकी

प्रेस काउन्सिल नेपालको तथ्यांकलाई आधार मान्दा यो सामग्री तयार पार्दासम्म ४ हजारभन्दा बढी अनलाइनले आफूलाई सञ्चार माध्यमको रूपमा काम गर्ने दर्ता भएर काम गर्दै आएका छन् । त्यस्तै दर्ता भएका पत्रिका करीब ८ सय छन्् । सूचना विभागका अनुसार झण्डै १२ सय रेडियो र २५० को संख्यामा टेलिभिजनले इजजातपत्र लिएका छन् ।

यति धेरै मिडिया एकअर्कामा आफूलाई अब्बल ठान्ने अथवा अरूका अगाडि आफूलाई उत्कृष्ट देखाउने प्रतिस्पर्धा नै छ । अहिले अधिकांश मिडियाले विषयवस्तु (इश्यू) को छनौट कसरी गर्छन होला ? हजारौंको संख्यामा भन्न मिल्ने मिडियाले आफूलाई आम पाठक, स्रोता, दशर्कका सवाललाई उठाउने बलियो माध्यमको रूपमा बताउँदै आएको पाइन्छ तर मिडियाका विषयवस्तु साह्रै सतही छन् । कुनै एउटा मिडियाले तानेको कुनै समचारको लहरोमा क्षणभरमै सबै मिडिया बेरिन्छन् । यो आलेखले उठाउन खाजेको विषय मिडिया कुन कुन क्षेत्रमा कमजोर बन्दै गएका छन् र के के कुराले कमजोर बनाएको छ भन्ने कुरालाई उठान गर्नु हो । मिडिया व्यवस्थित बन्न नसक्दा र व्यवस्थापनमा ध्यान नदिँदा समर्ग पत्रकारिता निरासाजनक अवस्थाबाट गज्रिएको छ भन्न अब हिच्किचाउनु हुन्न ।

एउटा मिडियाले दिनमा कतिसम्म समाचार सम्प्रेषण गर्छ होला ? रेडियो, पत्रिका, टेलिभिजनका समाचार केही व्यवस्थित देखिए पनि अनलाइन न्युज पार्टलका समाचार यति भागदौड अवस्थामा देख्छौं, मानौं कि सबै समाचार समेट्नै पर्नेछ र त्यसको जिम्मा तिनै अनलाइनले लिएका छन् । एउटा व्यवस्थित (जनशक्ति, स्रोतमा पहुँच, सम्पादकीय समूह लगायत) अनलाइनले जति समाचार सम्प्रेषण गर्छन, अर्को झोला अथवा कोठामा सिमित एकाध व्यक्तिले चलाएको अनलाइनले पनि ती सबै समाचार सम्प्रेषण (कपि) गरेकै भरमा त्यसभन्दा बढी समाचार सम्प्रेषण गर्छ । एउटा मिडियाले सम्प्रेषण गरेको समाचारको ‘भेरिफाई’ गर्न दर्जनौं मिडिया हेर्नुपर्ने बाध्यतामा अडियन्स पर्दै गएका छन् । एउटा सजग अडियन्स कुनै मिडियाको समाचारलाई एकैपटकमा विश्वास गर्ने अवस्थामा हुन्नन् । भद्रगोल पत्रकारिताका केही कारणलाई यसरी उजागर गर्न सकिन्छ ।

प्राज्ञिक र विषय विज्ञता

अहिले पनि मिडिया चलाउनको लागि र मिडियामा काम गर्नको लागि विषय विज्ञताको जरुरी पर्छ भन्ने बुझाइ कमै छ । मिडिया दर्ता गर्नको लागि आवश्यक पर्ने स्नातक अध्ययन (अनुभवले पनि हुने व्यवस्था छ) बाहेक अरू विशेष योग्यता देखिन्न । पत्रकारले लेख्ने कुरा जानेर लेख्छन् भन्ने कुरा विश्वासमा अडिएको विषय मात्र हो ।

नेपालमा औपचारिक रूपमा ३० को दशक तिरबाट रत्नराज्यलक्ष्मी क्याम्पसले अध्ययन अध्यापन गराउन थालेको थियो । बिस्तारै अन्य विश्वविद्यालय थपिँदै गए र उच्च माध्यामिक शिक्षा परिषद्ले पनि पत्रकारिता अध्यापन गराउन थाल्यो । यसले अनुभव र अभ्यासमा अडिएको पत्रकारितालाई थोरै भएपनि औपचारिक शिक्षामा प्राथमिकतामा राखिएको पाइन्छ । तथापि अहिले पनि सञ्चार माध्यमले मिडियाका विद्यार्थीलाई अभ्यासमा लैजाने गरेको पाईंदैन । जसरी अन्य पेशा व्यवसायमा औपचारिक अध्ययनको मूल्य हुन्छ, पत्रकारितामा त्यसको प्रयोग कमै पाइन्छ । अर्कोतिर मिडिया अध्ययनले पत्रकारलाई नैतिकवान बन्न प्रेरित गरेको हुन्छ तर पत्रकारिताको अभ्यास ठिक उल्टो बाटोमा छ ।

पत्रकारिताको ‘कखरा’ व्यावहारिक अभ्यासले सिकाउन सक्ला अथवा दक्ष बनाउन सक्ला तर पत्रकारितालाई लेखन सृजनशिलताको विषय मात्र ठानियो भने पत्रकारिता अधुरो हुन्छ । पत्रकारिता प्राज्ञिक र प्रतिस्पर्धाको विषय पनि हो । त्यस्तै पत्रकारिता अनुसन्धान, विकास, रणनीतिको औजार पनि हो । जसरी कुनै पनि पेशा व्यवसाय आफैमा अपडेट हुँदै जान्छ, समय र आवश्यकताले नयाँ कुरा माग्छ, पत्रकारितामा पनि औपचारिक अध्ययनले नयाँ कुराको बहस छेड्नको लागि सहयोग गर्छ ।

हाम्रो ‘न्यूज डेस्क’ले अहिले पनि पत्रकारिताको औपचारिक अध्ययनलाई आवश्यक कुरा हो भन्ने ठान्दैन । पत्रकारिता पढ्ने विद्यार्थीले कक्षा कोठामा एउटा कुरा अध्ययन गरेको हुन्छ, मिडिया हाउसमा उसको अभ्यास फरक हुन्छ । उसले पढेको र सिकेको कुराको तादम्यता व्यवहारमा मिल्न सकेको छैन । अर्कोतिर मिडिया चलाउने ‘मिडिया मालिक’ लाई मिडियाको औपचारिक योग्यता चाहिन्छ भन्ने कुरा त कल्पनासम्म पनि गर्न नसकिने विषय हो । मिडिया चल्ने, चलाउने अथवा मालिकले जुनसुकै तिकडम लगाएर भएपनि कमाउने र पत्रकार (कर्मचारी) पाल्ने कुरा अहिलेको लागि महान कुरा भएको छ । पत्रकारिताको व्यावसायिक नैतिकताले मालिकलाई छुन सकेको हुँदैन, यस्तो अवस्थामा मिडिया कसरी व्यवस्थित बन्न सक्छन् ?

जिम्मेवारी बाँडफाँट, हस्तान्त्रण र अनुगमन

कुनै पेशा व्यवसाय व्यवस्थित बन्नको लागि जिम्मेवारी बाँडफाँट र नियमित अनुगमनको पाटो महŒपूर्ण हुन्छ । तर मिडियामा कामको बाँडफाँट, जम्मेवारी हस्तान्तरण, अनुगमन जस्ता कुरा साह्रै फितलो अवस्थाबाट गुज्रिएका छन् । कामको बाँडफाँट र जिम्मेवारी हस्तान्तरण भन्ने कुरा काममा प्रभावकारिता ल्याउनको लागि गरिने कुरा हो । पहिलो कुरा त अहिले धेरै मिडिया साह्रै कम जनशक्तिको भरमा चल्नुपर्ने अवस्थामा छन्, अर्को कुरा त्यो जनशक्ति सिमित काममा जोडिन र कामको समिक्षा गरेर बस्ने अवस्था र अनुकुलतामा हुँदैन । किनकी एकजना पत्रकारलाई दिनमै दर्जन समाचार अपडेट गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा उसलाई गाइड गर्ने सुपरभाइजरले कति निर्देश गर्न सक्ला ? लेख्नेले कति तयार गर्न सक्ला ? र त्यसलाई प्राप्त गर्ने अडियन्स कति अपडेट होला अथवा कस्तो सूचना पाउला ?

मिडिया धेरै कुराको जवाफ खोज्ने ठाउँ हो, त्यस्तै सबै अडियन्सको जवाफ दिने ठाउँ पनि हो । पत्रकारितामा हाम्रो अभ्यास र विषयगत दक्षताका आधारमा फरक फरक बिट अथवा विषय केन्द्रित लेखन तथा रिर्पोटङ गर्दै आएका हौला तर आम अडियन्सले ‘तिमी पत्रकार भएपछि सबै कुरा जानकार राख्छौ’ भन्ने मान्यता अहिले पनि कायमै छ । कुनै सन्दर्भमा एकजना सम्पादकले भनेका छन्, ‘मलाईएकजना आमाले चन्द्र ग्रहण कतिबेला लाग्ने र ग्रहणमा के के गर्न मिल्ने नमिल्ने विषयमा सोध्नुभयो, जबकी मलाई ग्रहण लाग्दै भन्ने नै थाहा थिएन ।’ यसको अर्थ सबैकुराको जवाफ हामीसँग हुनुपर्छ र हुन्छ भन्ने होइन जति हुन्छ, त्यो जवाफदेही, विश्वसनीय र जिम्मेवार हुनुपर्छ भन्ने हो ।

व्यावसायिकताको सवाल

मिडिया व्यवस्थापनको अर्को चुनौती व्यावसायिकताको सवाल हो । अहिले मिडियाको विकासको शृङ्खला हेर्दा यो रहर र लहडले खोलिँदै आएको छ । पत्रकारितामा व्यावसायिकता भन्ने कुरा धेरै महत्वपूर्ण कुरा हो । व्यावसायिकता नहुँदासम्म खासमा पत्रकारिता नै हुँदैन । पत्रकारिताको व्यावसायिकता भनेको आर्जन गर्ने र व्यवसायलाई दिगो बनाउने कुरा मात्र महŒवपूर्ण होइन । पत्रकारिताका आफ्नै विश्वव्यापी मान्यताहरू छन् । आफ्नै आचारसंहिता छन् । व्यावसायिक नैतिकताका विषय छन् । स्वतन्त्र लाग्ने तर धेरैतिर सोचेर र त्यसको प्रभाव मुल्यांकन गरेर मात्र अगाडि बढ्नुपर्ने पेशा पत्रकारिता हो ।

बिडम्बना हाम्रो अभ्यासमा पत्रकारिता स्वतन्त्र राख्न सकिने अवस्था नै देखिन्न । मिडिया सञ्चालनमा आउँदै कतै न कतै बाँधिएर आएका हुन्छन् । एउटा मिडिया स्थापना गर्दा धेरै अस्वाभाविक (व्यावहारमा स्वाभाविक बन्दै गएको छ) प्रश्नको जवाफ दिनुपर्ने बाध्यता छ । जस्तो ः कुन पार्टीमा झुकाव राख्छ ? लगानी कसको हो ? ब्याक सर्पोट कसको छ ? लगायतका प्रश्नले घेरिएर शुरू भएको मिडिया नियमित चल्नको लागि कसको पक्षमा समाचार लेख्नुपर्ने हो, कसलाई मिडिया ‘स्टन्ड’ मा बोक्नुपर्ने हो, कसलाई ‘स्कूप’ को शिकार बनाउने हो या बाग्रेनिङको भाँडो बनाउनुपर्ने हो । यस्ता अनेकौं विकृति छन् जसलाई मिडियाले व्यवस्थापन गरेर लैजान सकेको छैन । कुनै व्यावसायिक घरानाको स्वार्थ, कुनै राजनीतिक दलको अभिष्ट पूरा गर्न, पत्रकार महासंघको सदस्य बन्न अथवा सूचना विभागको रातो कार्ड लिनमै लागि पत्रकार बन्ने र भन्ने पत्रकारिता व्यावसायिक पत्रकारिताका हुन सक्दैन तर अहिले भएको यही छ ।

सूचना प्रविधिको विकास

मिडिया व्यवस्थापनको अर्को महŒपूर्ण पाटो मिडियालाई समय र प्रविधि अनुकुल रुपान्तरण गर्ने कुरा पनि हो । सूचना र प्रविधिको विकास यति द्रुत गतिमा भएको छ कि त्यस अनुरुप मिडिया रुपान्तरित हुन नसेकेको अवस्था मिडिया हुनु र नहुनुले खासै अर्थ राख्दैन । सूचना, प्रविधिको विकास औसत विकास र हाम्रो बुझाइभन्दा माथिका विषय हुन् । विश्वमा विकास भएका एड्भान्स प्रविधि हाम्रो पहुँचमा पुग्नको लागि लामो कुराई आवश्यक पर्दैन । हिजो रेडियो, टेलिभिजन, पत्रिका सञ्चारका सधानका रूपमा थिए, अडियन्सले आफू अपडेट हुन त्यसैलाई माध्यम बनाउँथे तर अहिले तिव्रतर इन्टरनेटको विकासले कोही अपडेट हुन किन औपचारिक मिडियालाई नै कुर्ने भन्ने प्रश्न जन्मिएको छ । सामाजिक सञ्चाल सबैको पहुँचमा छ, मिडिया आफैले बलियो समाचार स्रोत सामाजिक सञ्चाललाई बनाउन थालेका छन् । हाम्रो प्रतिस्पर्धा हिजो सानो घेराभित्र थियो भने अहिले बढेर त्यो दायरा अन्तरराष्ट्रिय बनेको छ ।

मिडिया सामाजिक सञ्चाललाई स्रोत बनाउने दौडमा रहँदा अडियन्स त्यही सामाजिक सञ्जालबाट अपडेटेड हुन्छन, यस्तो अवस्थामा कुनै मिडिया हुनु र नहुनुले के अर्थ राख्ने ? यो पक्कापक्की हो, यो अवस्थाबाट भाग्न सकिँदैन । तर मिडियाले यसलाई अवसरको रूपमा लिएर काम गर्न सकिने विकल्प पनि त होला नि ? प्रविधिको प्रयोगमा व्यापकता ल्याएर सृजनशीलता जोड्न मात्र सक्ने हो भने प्रभावकारिता आउँछ । अर्कोतिर मिडिया प्रविधिमैत्री बन्ने भन्ने कुरा ‘मिडिया कन्भरजेन्स’ को अवधारणमा जाने भन्ने पनि हो । यो सञ्चारका उपभोक्ताले छापा र विद्युतीय माध्यमको उपभोग एकैपटक गर्न सक्ने अवसर पाउँछन् । न्यू मिडिया भनेर चिनिएको अनलाइन सञ्चार माध्यमलाई कन्भरजेन्स कार्यान्वयनको मञ्च (प्लेटफर्म) का रुपमा स्वीकार गरिएको छ । मिडिया कन्भरजेन्समा परम्परागत र न्यू मिडियालाई जोड्ने र यसको प्रत्यक्ष लाभ सेवाग्राहीलाई प्रदान गर्ने लक्ष्य राखिन्छ भन्दा अस्वाभाविक हुँदैन । यस अवधारणाअन्तर्गत सेवाग्राहीलाई अनलाइनका माध्यमबाट आफूले रोजेको स्वरुपको मिडियामा पहुँच स्थापित गर्ने अवसर उपलब्ध हुन्छ । सञ्चारका जुनसुकै माध्यमबाट प्रकाशित वा प्रशारित हुने वा भएका मिडियाका विषयवस्तु (समाचार, लेख, अन्तर्वार्ता, विचार, रेडियो र टेलिभिजनका कार्यक्रम आदि) उपभोक्ताले एकै माध्यमबाट एकै ठाउँमा प्राप्त गर्न सक्छन् । यस आधारमा विश्लेषण गर्ने हो भने यो अवधारणा इन्टरनेटको सहज उपलब्धताका आधारमा मात्र सफल हुने विश्वास गर्न सकिन्छ ।

लगानी र बजार

हरेक पेशा व्यवसायको आफ्नोे सीमा हुन्छ । त्यसको बजार हुन्छ, व्यापकताका आफ्ना योजना हुन्छन् । मिडिया क्षेत्र पनि त्यस्तो क्षेत्र हो जहाँ अर्बौंको लगानी छ । व्यवस्थित रूपमा चलेका धेरै मिडिया कर्मचारी व्यवस्थापनदेखि प्राविधिक र प्रशासनिक खर्च चलाउनकै लागि ठूलो लगानी गर्दै आएको अवस्था छ । सानै मिडिया पनि सिमित स्रोत र साधनबाट दर्ता प्रकृयादेखि थोरै कर्मचारी भएपनि खटाएर काम गरिरहेका छन् । जसरी अन्य व्यवसायमा गरिएको लगानी र व्यवसायको प्रगति आजभन्दा भोलि बढ्दै जाने र त्यसले नाफा कमाउने भन्ने कुरासँग जोडिन्छ, मिडिया आज जुन उत्साह र हौसलाले खुल्छन्, भोलि त्यसको उत्साह मर्दै जान्छ । यसले के देखाउँछ भने देख्दा सजिलो लाग्ने तर उच्च जोखिमको लगानी क्षेत्रको रूपमा मिडिया क्षेत्र रहेको छ ।

धेरैतिर मिडिया सञ्चालनको प्रावधानलाई केही कसिलो बनाउने कि भन्ने बहस समेत उठ्दै आएका छन् । सुन्दा नमिठो लागे पनि यसलाई कस्न कुनै न कुनै खालको औजार जरुरी भएकै हो । सिमित विज्ञापन बजार, त्यही विज्ञापन बजारमा निर्भर प्रतिस्पर्धाले मिडियालाई कति दिन धान्न सक्छ ? दोस्रोकुरा विज्ञापन बजार परम्परागत मिडिया अथवा न्यू मिडिया नै भएपनि परम्परागत ढर्राका मिडियालाई काँधमा बोकेर हिँड्न सक्ने देखिन्न किनकी विज्ञापन बजारले नेपालको पत्रकारितालाई सम्मान गर्न सकेको छैन । अर्कोतिर विज्ञापन बजारले पत्रकारिताको धर्म, नैतिकता, मर्म र भावनालाई पनि नराम्ररी थिचेर राखेको छ ।

You might also like

Comments are closed.