अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रले वर्तमान समयमा विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । यस्तो परिस्थितिमा व्यवसायीहरूमा ऊर्जा भर्न र आर्थिक गतिविधिलाई चलायमान बनाउन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पहिलो पटक राजधानीमा ‘काठमाडौं महोत्सव’ आयोजना गर्दैछ । यो महोत्सव केवल एउटा मेला मात्र नभई निजी क्षेत्रका लागि उत्साहको सञ्चार गर्ने एउटा महत्वपूर्ण उत्सव बन्ने हाम्रो विश्वास छ ।
महोत्सवको मुख्य उद्देश्य स्थानीय तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु र तिनको प्रवद्र्धन गर्नु हो । नेपाली वस्तुको प्रयोग गरौँ, आत्मनिर्भर अर्थतन्त्र निर्माण गरौँ भन्ने मर्मलाई आत्मसात् गर्दै प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादनहरूलाई विशेष स्थान दिइएको छ । यसले गर्दा हाम्रा स्थानीय उद्यमीहरूले आफ्नो बजार विस्तार गर्ने र उपभोक्तासँग प्रत्यक्ष जोडिने अवसर प्राप्त गर्नेछन् ।
महोत्सवमा प्रदर्शनी मात्र नभई सामग्रीहरूको बिक्री वितरणको समेत व्यवस्था गरिएको छ । यसले गर्दा व्यापारीहरूले आफ्ना नयाँ वस्तु तथा सेवाहरू सार्वजनिक गर्न पाउनेछन् । उपभोक्ताले एकै थलोमा गुणस्तरीय स्वदेशी वस्तुहरू सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् । सुस्ताएको व्यापारिक क्षेत्रमा यसले नयाँ उत्साह थप्ने र आर्थिक कारोबारमा वृद्धि गर्नेछ ।
व्यापारिक प्रयोजनका साथै महोत्सवलाई सपरिवार रमाउन मिल्ने गरी तयार पारिएको छ । दर्शकहरूको मनोरञ्जनका लागि हरेक दिन लोकप्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ । कला, संस्कृति र व्यापारको यो संगमले महोत्सवलाई थप आकर्षक र जीवन्त बनाउनेछ ।
म अध्यक्ष रहेको नेपाल वितरक संघले महोत्सवलाई सफल बनाउन सहयोगी संस्थाको रूपमा काँधमा काँध मिलाएर सहकार्य गरिरहेको छ । वितरण प्रणाली सुदृढ नभई उत्पादन उपभोक्तासम्म पुग्न सक्दैन, त्यसैले वितरकहरूको सहभागिताले महोत्सवको गरिमा अझ बढाएको छ । एउटा जिम्मेवार व्यवसायी र संघको प्रतिनिधिको रूपमा यस ऐतिहासिक महोत्सवको अग्रभागमा खटिएर काम गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।
यो महोत्सवले काठमाडौंको मात्र नभई समग्र देशकै आर्थिक विकासमा एउटा इँटा थप्ने अपेक्षा लिएको छु । राजधानीमा आयोजना हुन लागेको यो महोत्सवलाई सफल पार्नु हामी सबैको साझा दायित्व हो । म सम्पूर्ण उद्योगी, व्यवसायी र आम उपभोक्ता महानुभावहरूलाई यस महोत्सवमा सहभागी भई स्वदेशी उत्पादनको हौसला बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।




Comments are closed.