समृद्धिको बाटोमा शिक्षा, उद्यमशीलता र सुशासन अपरिहार्य: राष्ट्रपति पौडेल

सङ्खुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षालाई आधुनिक, विज्ञान–प्रविधि मैत्री र अनुसन्धानमुखी बनाउन हालको पाठ्यक्रम, सिकाइ र अध्यापन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।

सङ्खुवासभाको मादी माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले शिक्षालाई उद्यमशीलता, सीप, क्षमता र जीवनोपयोगी ज्ञानसँग जोड्नुपर्नेमा जोड दिए । उनका अनुसार, गाउँमा कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससँगै शिक्षा जोडिनु जरुरी छ । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकतालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने पनि उनले बताए ।

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुसार गुणस्तरीय, व्यावसायिक र समयसापेक्ष शिक्षा नै समृद्धिको आधार हुने उल्लेख गरे । “कृषिलाई आधुनिक, व्यावसायिक र औद्योगिक बनाउने खालको शिक्षा आजको आवश्यकता हो,” उनले स्पष्ट पारे ।

उनले दिनहुँ ठूलो संख्यामा विदेशिने युवाशक्ति स्वदेशमै रोक्न अब ढिलाइ गर्न नहुने बताए । “श्रमको सम्मान गर्ने संस्कृतिसहित गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्न सक्यौं भने युवालाई स्वदेशमै राख्न सकिन्छ । त्यसका लागि सीपमूलक शिक्षा अपरिहार्य छ,” उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदान र संघर्षको उपलब्धि भएको उल्लेख गर्दै उनले समृद्धिको बाटोमा बाधक बनेका बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता नै पहिलो शर्त भएको स्पष्ट पारे ।  राजनीतिक परिवर्तनपछि जनताका आकांक्षा पूरा गर्न केही ढिलाइ भए पनि विकास र स्थायित्वतर्फ देश अघि बढिरहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले सङ्खुवासभाको प्रचुर सम्भावनाको पनि चर्चा गरे । उनका अनुसार, यो जिल्ला जलविद्युत उत्पादनमा अग्रणी, पर्यटनका दृष्टिले आकर्षक र चीनसँग जोडिएको किमाथाङ्का नाका व्यवस्थित विकास गर्न सकिने महत्त्वपूर्ण सम्भावना बोकेको छ । उनले कृषि, शिक्षा, जलस्रोत, पर्यटन र उद्योगधन्दा नै नेपालको विकासको आधार भएको उल्लेख गर्दै यसलाई भौगोलिक संरचना र प्राकृतिक स्रोतसाधनले पनि पुष्टि गर्ने बताए ।

You might also like

Comments are closed.