पृथ्वी राजमार्गको डाँडाकोनाकदेखि बिजयपुरसम्मको एकतर्फी सडक एकमहिना भित्र कालोपत्रे हुने

लेखनाथ । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं. २६ डाँडाको नाकदेखि बिजयपुरसम्मको सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीले कामलाई तिव्रता दिएको छ । डाँडाकोनाक प्रहरीचौकीदेखि विजयपुर व्यारेकतर्फको साइड एकमहिनामा कालोपत्रे गर्नेगरी कामलाई तिव्रता दिएको हो ।

डाँडाको नाकदेखि बिजयपुरसम्म तीन किलोमिटर सडक मध्ये ६ लेण्ड तर्फको २ दशमलव ५ किलोमिटर सडकको एकतर्फी कालोपत्रे एक महिना भित्र सक्ने गरी काम भइरहेको ठेक्का सम्झौता गरेको चिनिया कम्पनी आनहुई खाईयुआन हाईवेय एण्ड ब्रिज कम्पनी लिमिटेडले जनाएको छ ।

आयोजनाको उक्त खण्डमा निर्माणका क्रममा देखिने समस्या समाधानका लागि वडा नं. २६ को कार्यालयमा आयोजना निर्माण कम्पनीका प्रतिनिधि र जनप्रतिनिधिबीच शनिबार छलफल भएको थियो ।

छलफलमा वडा अध्यक्ष नरेन्द्र थापाले वडा नं. २६ भित्र आयोजनालाई आईपर्ने जुनसुकै समस्या पनि तत्काल समाधान गरि निर्माण कार्यलाई सहजीकरण गरिने बताए ।

अन्तर्राष्ट्रिय निर्माण कम्पनीले काम गरेकाले सोही अनुसारको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्दै, अध्यक्ष थापाले सडक विस्तारलाई अवरोध गरेका विद्युत र टेलिफोनका पोलहरु तीन दिन भित्र हटाउने निर्णय समेत भएको उल्लेख गरे ।

अध्यक्ष थापाले सडकमा रहेका खाल्डा पुर्ने, बाटो र नाला निर्माण गर्दा अवरुद्ध भएका सहायक मार्गमा यातायात संचालन गर्ने र सडक निर्माण गर्दा धुलो उड्ने समस्यालाई समाधान गर्न निर्माण कम्पनीले प्रतिवद्धता जनाएको बताए ।

jutta mela

छलफलमा तालचोकदेखि पोखराको सेतीसम्मको सडक खण्डका आयोजना म्यानेजर छ्वाङ जोन ताओ, साईट इन्चार्ज छन् जि लाङ र इन्जिनिर अनुप श्रेष्ठले स्थानीयको समस्या समाधान गरी आयोजनाको उक्त खण्ड निर्धारित समयमा सक्ने प्रतिवद्धता जनाएका थिए ।

नेपाल विद्युत प्राधिकरणका इन्जिनियर विकास चौधरी र टेलिकम तालचोकमा प्रमुख सुवास पौडेलले पोलका कारण सडक निर्माणमा ढिलाई नहुने स्पष्ट पारे ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानाले आयोजना निर्माणबाट खानेपानी आपूर्तिमा प्रभाव नपर्नेगरी कार्य गर्न आग्रह गरेका थिए ।

छलफल कार्यक्रममा वडा नं. २६ का जनप्रतिनिधिहरु लक्ष्मीदेवी भट्टराई, तीर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, वडा सचिव लिलामणि भण्डारी, सूचना अधिकारी नवराज सापकोटा, वडाका इञ्जिनियर विकास सुवेदी, सव इञ्जिनियर संकल्प ढुंगाना र अमिन दिवाकर सुवेदीको सहभागिता थियो ।

आयोजनाको निर्माणका क्रममा विद्युत तथा टोलिफोनको समस्या र जनगुनासो सम्वोधनका लागि वडा सदस्य सुदिपराज ढुंगाना, खाल्डो पुर्र्ने र धुलो व्यवस्थापनका लागि तीर्थबहादुर राजभाट र खानेपानीको समस्याका लागि लक्ष्मीदेवी भट्टराईलाई फोकल पर्सन तोकिएको छ ।

आयोजनाबाट खाल्डा पुर्ने र धुलो व्यवस्थापनका लागि इञ्जिनियर अनुप श्रेष्ठ, विद्युतको समस्याका लागि इञ्जिनियर विकास चौधरी, खानेपानीका लागि लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानालाई समन्वयनको जिम्मेवारी समेत बैठकले तोकेको छ ।

You might also like

Comments are closed.