काठमाडौं । पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा सडक खण्ड बुधबारबाट राति १२ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि रातिको समयमा सडक बन्द हुने भएको हो ।
अहिले सडक विस्तारका लागि भित्ता काट्ने, रिटेनिङ वाल बनाउने, नाली, कल्भर्ट बनाउने कामहरू भइरहेका छन्।८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर आँबुखैरहनी–पोखरा सडक विस्तार थालिएको हो।
तीन वर्षमा काम सक्नेगरी सम्झौता भए पनि यो सडक खण्डमा कामको गति असाध्यै सुस्त हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन्। ट्राफिक जामको समस्या झेलिरहेका छन्।
सम्झौताअनुसार काम भए पृथ्वी राजमार्गको तनहुँमा पर्ने आँबुखैरहनी–जामुने (पहिलो खण्ड) खण्डको काम २०८१ सालको वैशाखभित्रमा सकिनुपर्छ भनेतनहुँको जामुनेदेखि कास्कीको पोखरा(दोस्रो खण्ड)सम्मको काम २०८१ सालको भदौसम्ममा सक्नु पर्छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा राजमार्ग विस्तारको काम चलिरहेको हो।
Comments are closed.