पोखरा ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले ऋणको किस्ता तिर्ने म्याद नथपे आफ्ना सबै बसहरुको चावी बुझाउने चेतावनी दिएको छ । कम्पनीले बुधबार पोखरामा पत्रकार भेटघाट गरि बस खरिद गर्दा लिएको लोनको किस्ता तिर्ने म्याद न्यूनतम ६ महिना नथप्ने हो भने सबै बसका कागजात र तालाचावी सम्बन्धित वैंक तथा वित्तिय संस्थालाई नै बुझाउने चेतावनी दिएको हो ।
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले लोनको किस्ता तिर्ने म्याद थप्ने वातावरण बनाईदिनका लागि पटक÷पटक आग्रह गरेपनि बेवास्ता गरेकाले बाध्य भएर तालाचावी बुझाउने निर्णयमा पुगेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पटक÷पटक पहल गर्दापनि माग सम्बोधन भएन,‘उनले भने,‘कोरोना महामारी र लकडाउनका कारण सवारीसाधन चलाउन नपाएर ग्यारेजमै थन्काएर बसिरहेको बेलामापनि वैंक तथा वित्तिय संस्थाहरुले व्यवसायीलाई कर तिर्न बाध्य बनाउने, मानसिक तनाव दिने कार्य जारी राखेको छ, यस्तो अवस्थामा लोनको किस्ता तिर्न नसक्ने भएकाले बरु तालाचावी नै बुझाउने निर्णय गरेका हौं ।’ उनले असार २१ गतेबाट बसका तालाचावी संकलन गर्न शुरु गर्ने र २२ गतेदेखि सम्बन्धित वैंक तथा वित्तिय संस्थालाई बुझाउन शुरु गरिने बताए ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले तालाचावी बुझाइएका सवारीसाधन केहि भएमा कम्पनी जिम्मेवार नहुने बताएको छ । उसले तालाचावी बुझाई सकेपछि सम्बन्धित वैंक तथा वित्तिय संस्थाले नै त्यसको जिम्मेवारी लिनुपर्ने बताएको छ ।
कम्पनीका संस्थापक अध्यक्ष ऐनकुमार साईले लोनको किस्ता तिर्न वैंक तथा वित्तिय संस्थाले गरेको ताकेताका कारण व्यवसायीहरु आत्महत्या गर्न बाध्य हुने स्थिति आएको बताए । उनले तत्काल लकडाउन खुलिहालेपनि ग्यारेजबाट गाडी निकालेर सर्भिसिङ गर्न १ देखि २ लाख लाग्ने भन्दै सो कार्य गर्नपनि व्यवसायीसँग पैसा नभएको बताए । एक हप्ताका लागि भनेर हामीले गाडी ग्यारेजमा थन्कायौं,‘उनले भने,‘तर यो त बढ्दै गएर ४ महिना पुग्न लाग्यो, अहिले गाडीमा खिया लागेर जाम भएको छ, अब गाडी ग्यारेजबाट निकाल्न मात्रपनि २ लाखसम्म लाग्छ, त्यसका लागि चाहिने पैसापनि हामीसँग छैन वैंकलाई तिर्ने त परको कुरा भो ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी केशब अधिकारीले वैंकले किस्ता तिर्न बाध्य पार्नका लागि अनेक तिकडम गरिरहेको बताए । यातायात व्यवसायीको कुरा बोल्ने कोहि नभएको बताउँदै उनले भने,‘न सांसदले हाम्रो बारे कुरा उठाए, नत मन्त्री वा सरकारले नै ।’ वैंकले एक महिनाको ब्याज मिनाहा दिने, गाडीको सट्टा जग्गा धितो राखेर किस्ता पुर्नतालिकीकरण गरिदिनेलगायतका प्रस्ताव गरेर व्यवसायीलाई फसाउने र बिल्लिबाँठ पार्ने षडयन्त्र गरिरहेको उनको भनाई छ ।
Comments are closed.