पृथ्वीराजमार्गको दायाँबायाँ संरचना निर्माण गर्न रोक

दमौली ।
मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड)ले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दायाँबायाँ विभिन्न क्रियाकलाप र गतिविधि गर्न रोक लगाएको छ ।

मुग्लिङ–पोखरा राजमार्ग सुधार चरण एक योजनाअन्तर्गत आँबुखैरेनी जामुनेसम्मको सडकखण्डलाई चारदेखि ६ लेनसम्म विस्तार गर्न लागिएकाले उक्त खण्डमा विभिन्न क्रियाकलाप गर्न रोक लगाइएको हो । राजमार्गको क्षेत्राधिकारभित्र केन्द्रदेखि २५÷२५ मिटर दायाँबायाँ पर्ने गरी खेतीबाली, खाडल खन्ने वा कुलोकुलेसा निर्माण, खानेपानी, धारा निर्माण गर्ने, सडकसँग जोडिने गरी प्रवेशमार्ग निर्माण गर्ने, किला तगारो गाड्ने, घरटहरा निर्माण गर्ने तथा कुनै किसिमका व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा रोक लगाइएको योजनाले जनाएको छ ।

सूचनाको बेवास्ता गरी राजमार्ग क्षेत्रभित्र कसैले त्यस्ता क्रियाकलाप गरी क्षति भएमा योजना जिम्मेवार नहुने र कुनै पनि किसिमको क्षतिपूर्ति वा सहयोग उपलब्ध गराउन नसकिने योजना प्रमुख नरेन्द्र सुवेदीले बताए । योजनाले सडक विस्तारका लागि आँबुखैरेनीदेखि सडक आसपास खन्न सुरु गरिसकेको छ । राजमार्ग छेउछाउका रूख कटानको काम पनि सुरु भएको छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख हटाउनुपर्ने हुन्छ ।

jutta mela

योजनाले रूख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा भने एक हजार दुई सय पचास रूख कटानका लागि विभागबाट स्वीकृति लिने प्रक्रियामा छ । अस्सी किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम पनि सकिएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । मुग्लिन–पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्ड रु ६ अर्ब २१ करोड ३१ लाखमा ठेक्का लागेको छ ।

चार लेनको बन्द सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस

 

You might also like

Comments are closed.