निजी क्षेत्रको एजेण्डामा महासंघ र परिसंघबीच सहकार्य गरिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई नेपाल उद्योग परिसंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । परिसंघको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा महासंघका पदाधिकारीलाई परिसंघका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गर्दै कार्यकाल सफलताको कामना गरेको हो ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रका दुई सशक्त संस्थाबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पारे । उनले नयाँ कार्यसमितिसँग महासंघसँगको सहकार्यलाई थप सुदृढ र मजबूत बनाउनु आजको प्रमुख आवश्यकता भएको बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै समस्या उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्या फरक पर्ने भएकाले मध्यमार्गी बाटो अपनाइ एकताबद्ध भएर जानुपर्ने बताए ।

उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विगतमा पनि परिसंघसँग सहकार्य गर्दै आएको स्मरण गरे । आर्थिक पुनःउत्थान तथा औद्योगिक विकासको साझा एजेण्डामा परिसंघ र महासंघ मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले निजी क्षेत्रका संस्था प्रतिस्पर्धीभन्दा साझेदारका रुपमा भएकाले यही क्षेत्रबाटै समृद्धि सम्भव रहेको बताए ।

कार्यक्रममा परिसंघकोतर्फबाट परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालसहित उपाध्यक्ष सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो । महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनलगायत सहभागी थिए ।

You might also like

Comments are closed.