पोखरा । पोखराका उद्योगी तथा व्यवसायीहरूले पोखरा महानगरपालिकालाई आगामी आर्थिक वर्षको राजस्व नीति तर्जुमा गर्दा करको दरभन्दा दायरा फराकिलो बनाउन र निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्न आग्रह गरेका छन्। उनीहरूले महानगरभित्र ठूलो संख्यामा व्यवसायहरू आधिकारिक निकायमा दर्ता नभई सञ्चालन हुँदा दर्ता भएका व्यवसायी मर्कामा परेको गुनासो गरे।
पोखरा उद्योग वाणिज्य संघले सोमबार पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको ‘आगामी आर्थिक वर्षको राजस्व नीतिबारे सुझाव संकलन’ अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दर्ताबिनै सञ्चालित व्यवसाय र चोरी पैठारीबाट भित्रिने सामानका कारण कर तिरेर व्यवसाय गर्नेहरू मारमा परेको बताए। “यो समस्या समाधान भए धेरै व्यवसायी दर्ता प्रक्रियामा आउँछन्, स्वच्छ प्रतिस्पर्धा हुन्छ र राजस्व पनि बढ्छ,” उनले भने, “हामी कर तिर्न तयार छौं, तर कर लगाउँदा व्यवसायीलाई भार नपरोस्।” उनले एकै प्रकृतिको कर विभिन्न ठाउँमा तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न, प्राकृतिक स्रोत साधनको उपयोग गरी राजस्व बढाउन र राजस्व परामर्श समितिमा निजी क्षेत्रका सुझावहरूलाई उचित स्थान दिन माग गरे।
अध्यक्ष कार्कीले लामो समयदेखि समस्याको रुपमा रहेको घरबहाल कर घरधनीबाटै असुल गर्नुपर्नेमा जोड दिए। उनको यस भनाइमा नेपाल उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्माले सहमति जनाउँदै घर बनाएर भाडामा लगाउनु सबैभन्दा सुरक्षित र कम राजस्व तिर्ने व्यवसाय बनेको टिप्पणी गरे।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले व्यवसायीलाई मर्का नपर्ने गरी राजस्व नीति ल्याउनुपर्ने र त्यसमा निजी क्षेत्रले सहकार्य गर्ने बताए। पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले निजी क्षेत्रका सुझावलाई महानगरले आगामी नीतिमा समेट्नुपर्ने धारणा राखे।
लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले मुख्य बजार र महानगरभित्रकै दुर्गम क्षेत्रमा व्यवसाय गर्नेलाई एउटै करको दायरामा राख्न नहुने बताइन्।
कार्यक्रममा सहभागी अन्य व्यवसायीहरूले कारोबारको आधारमा कर निर्धारण गर्नुपर्ने, अवैध व्यवसायमाथि कारबाही गर्नुपर्ने, राजस्व नीतिबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र दर्ता भएका तर बाध्यतावश कारोबार बन्द भएका व्यवसायीलाई जरिवानाबिना फर्म खारेज गर्ने व्यवस्था मिलाउनुपर्ने जस्ता महत्वपूर्ण सुझावहरू दिएका थिए। कार्यक्रमको सञ्चालन पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव सुदीप प्रधानाङ्गले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले गरेका थिए।
Comments are closed.