नेपाली बजारमा प्रोटोन इ.मास ५, सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट एसयुभि आधिकारिक रूपमा सार्वजनिक गरेको छ । नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय गाडीको रूपमा ल्याइएको इ.मास ५ ले एक नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभिको विकल्प हो जसले ग्राहकलाई सहरी जीवनशैली र दैनिक यात्रा अनुभवमा नयाँ आयाम थप्ने बताइएको छ ।

प्रोटोन इ.मास ५ ले हालसालै मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवाड्र्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’ को उपाधी हासिल गरी अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ । अत्याधुनिक प्रविधि र बौद्धिक (इन्टेलिजेन्ट) डिजाइनको उत्कृष्ट संगम रहेको इ.मास ५ मा ‘वायरलेस एप्पल कारप्ले’ र ‘एन्ड्रोइड अटो’ सुविधासहित १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ । साथै, अगाडी ७० लिटरको फ्रन्ट ट्रङ्क (फ्रङ्क) र पछाडी ३७५ लिटरको ‘एक्पान्डेबल रियर लगेज कम्पार्टमेन्ट’ सहित उपयोगितालाई ध्यानमा राख्दै बनाइएका सामान राख्न गर्न मिल्ने ३२ वटा विभिन्न ठाउँहरू (स्टोरेज कम्पार्टमेन्ट्स) रहेका छन्, जसले नियमित दैनिक छोटोदुरीको यात्रा र लामोदुरीको भ्रमण दुवैका लागि व्यावहारिक उपयोगिता र सहजता प्रदान गर्दछ ।

सार्वजनिकिकरण समारोहमा नेपालस्थित मलेसियन दूतावासका प्रतिनिधि, अटोमोबाइल क्षेत्रका सरोकारवाला, व्यावसायिक साझेदार, सञ्चारकर्मी, अटो–पत्रकार, इन्फ्लुएन्सर, ग्राहक लगायतको उपस्थिति थियो ।

सार्वजनिकिकरण समारोहमा सम्बोधन गर्दैै जगदम्बा मोटर्सका एक्जेक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, “प्रोटोनसँगको हाम्रो साझेदारीलाई निरन्तरता दिँदै हामीले प्रोटोन इ.मास ५ नेपालमा सार्वजनिक गरेका छौँ, जुन विद्युतीय सवारी साधनका विकल्पहरू तिव्र गतिमा विस्तार गर्ने हाम्रो लक्ष्यअन्तर्गत एक महत्त्वपूर्ण उपलब्धी हो । इ.मास ५ ले नेपाली ग्राहकहरूका लागि अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता, उत्कृष्ट विशेषताहरू र सही मूल्यको संयोजन प्रदान गर्दछ । यसले गर्दा यो इभि नेपाली ग्राहकहरूको निम्ती एक उत्कृष्ट कम्प्याक्ट एसयुभिको विकल्प बन्न पुग्छ । दिगो यातायात तथा सवारीसाधनतर्फ नेपालको रूपान्तरणलाई सहयोग गर्दै, ग्राहकको ड्राइभिङ अनुभवलाई पुनःपरिभाषित गर्ने विश्वस्तरीय विद्युतीय गाडी नेपाली बजारमा भित्र्याउन पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ ।”

मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ । हाल प्रोटोन इ.मास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।

समारोहमा आफ्नो मन्तव्य राख्दै प्रोटोन इन्टरनेसनलका डेपुटि डाइरेक्टर लि झिदानले भने, “प्रोटोन इ.मास ५ ले विश्वव्यापी बजारमा बलियो पहिचान बनाइसकेको छ । विश्वभरका ६ लाख १० हजारभन्दा बढी ग्राहकहरूले प्रोटोन इ.मास ५ मा प्रयोग भएको ‘प्लेटफर्म’लाई अपनाएका छन् । प्रोटोन इ.मास ५ ले उन्नत प्रविधि, भरपर्दो सुरक्षा र उत्कृष्ट मूल्यसहितका गाडीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धता झल्काउँदछ । प्रोटोनको अन्तर्राष्ट्रिय विकास रणनीतिमा नेपाल एक महत्त्वपूर्ण बजार हो । जगदम्बा मोटर्ससँगको सहयार्यले प्रोटोन इ.मास ब्रान्डलाई भरपर्दो र नवप्रवर्तनीय विद्युतीय सवारी–साधन खोज्ने नेपाली ग्राहकहरूको लागि एक विश्वसनीय रोजाइ बनाउनेमा हामी विश्वस्त छौँ ।”

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जगदम्बा मोटर्सले प्रोटोन इ.मास ५ को नेपालमा सार्वजनिकिकरणको विशेष उपलक्ष्यमा प्राइम भेरियन्टको लागि २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको लागि ३४ लाख ९९ हजार रुपैयाँको विशेष सुरुवाती मूल्य घोषणा गरेको छ । यी विशेष सुरुवाती मूल्य पहिलो १०० ग्राहकका लागि र सीमित अवधीको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

ग्राहकले देशभरका जुनसुकै प्रोटोन इ.मास सोरुममा गई नयाँ प्रोटोन इ.मास ५ को प्रत्यक्ष अनुभव लिन र विशेषताको अनुभव गर्न सक्नेछन् । साथै, सीमित अवधीको लागि लागू हुने सुरूवाती मूल्यमा इ.मास ५ बुकिङ गर्न सक्नेछन् ।

You might also like

Comments are closed.