पोखरा । सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेको धार्मिक एवं ऐतिहासिक स्थल पोखरा महानगरपालिका वडा नं २२ स्थित पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति निर्माण प्रक्रियाले गति लिएको छ ।
पुम्दीकोट कोट विकास समितिको सकृयतामा रु ४० करोड लागतमा निर्माणाधिन विशाल महादेव मूर्ति कार्यअन्तर्गत मूर्ति जडान गर्ने काम भइरहेको छ । समितिले १०५ फिटको उठेको स्वरुपमा महादेवको मूर्ति राख्ने लक्ष्य राखे पनि नागरिक उड्डयन प्राधिकरणको सल्लाहअनुसार बसेको स्वरुपमा ५१ फिट उचाइको मूर्ति राख्ने काम भइरहेको समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक चन्द्रकान्त बरालले बताए ।
पुम्दीकोटका प्रचुर पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै विशाल महादेव मूर्ति स्थापना गर्न लागिएको उनले बताए । पोखराको मुख्य बजारक्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमाली शृंखला अवलोकन गर्न सकिन्छ । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ २०७३ साल फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित २० रोपनी जग्गा दान प्राप्त भएको थियो ।
सो अभियानलाई साकार पार्न उद्योगपति कमल जैनले महादेवको मूर्ति निर्माण गर्न सहयोग गरेका छन् । वीरगञ्जका उद्योगपति मुरलीधर रुङ्गटा र समाजसेवी एवं अभियानका संयोजक बरालले रु एक÷एक करोडसहित विभिन्न सहयोगी व्यक्ति एवं संघसंस्थाबाट सहयोग प्राप्त भएको समितिले जनाएको छ । निर्माण कार्यमा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिकालगायतका विभिन्न सरकारी निकायले सहयोग गरेका छन् ।
समितिले बृहत् गुरुयोजना तयार गर्दै त्यसअनुरुप काम अघि बढाएको समितिका सहसचिव प्रकाश बराल बताए । लक्षित योजना अनुसार पहिलो चरणमा महादेवको मूर्ति स्थापनासहित गणेशले परिक्रमा गरिरहेका १०८ शिव लिङ्ग, १०८ स्वर्गद्धारी सिंढी लगायतका संरचना सक्ने योजना रहेको उनले जानकारी दिए ।
समितिले दोस्रो चरणमा गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने योजना बनाएको छ । गुरुयोजनाअनुसार सबै काम सम्पन्न गर्न रु ४० करोड लाग्ने र हालसम्म रु १४ करोड भन्दा बढी खर्च भइसकेको छ । पोखराको फेवातालसहित पोखरा, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृङ्खला एकसाथ देख्न सकिने पुम्दीकोट प्रकृतिको बरदान भएको वडा नं २२ का वडा सदस्य मात्रिका बरालले बताए । रासस
Comments are closed.