यातायात महासंघको अध्यक्षमा सिटौलाको उम्मेदवारी, यस्ता छन् उनका एजेन्डा

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशन पर्यटकीय नगरी पोखरामा जारी छ । महासंघको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

आज हुने निर्वाचनका लागि सिटौला बलियो दाबेदारका रूपमा देखिएका छन् । व्यवसायीहरूका माझ लोकप्रिय, स्पष्ट वक्ता र पीडितहरूको पक्षमा निरन्तर आवाज उठाउँदै आएका सिटौलाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

लामो समयदेखि यातायात क्षेत्रको अधिकारका लागि अग्रपङ्क्तिमा रहेर संघर्ष गर्दै आएका सिटौला नीतिगत सुधारमा अग्रणी पहिचान बनाउन सफल व्यक्तित्व हुन् । सत्यको मार्गमा अडिग रहने र व्यवसायीको हितलाई सर्वोपरि ठान्ने उनको स्वभावले गर्दा देशभरका व्यवसायीहरूमाझ उनको पकड बलियो मानिन्छ ।

सिटौलाले आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभई यातायात क्षेत्रको अस्तित्व र सुधारका लागि भएको बताएका छन्।

उनका मुख्य प्राथमिकताहरू यस प्रकार छन् :

वैज्ञानिक भाडा समायोजन : इन्धनको मूल्य बढ्दा र घट्दा स्वतः लागू हुने ‘स्वचालित भाडा प्रणाली’ कार्यान्वयनका लागि राज्यलाई दबाब दिने ।

निजी सवारी (रातो प्लेट) को नियमनः ‘राइड शेयरिङ’का नाममा निजी सवारीले गर्ने अनियन्त्रित व्यावसायिक गतिविधिलाई रोक्दै राज्यलाई कर तिर्ने र अर्बौँ लगानी गर्ने व्यवसायीहरूको संरक्षण गर्ने ।

प्रविधिमैत्री र सुरक्षित यातायात : सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन पहल गर्ने र सुरक्षित सडक पूर्वाधारका लागि सरकारलाई जिम्मेवार बनाउने ।

अधिकार सम्पन्न प्राधिकरणः यातायात क्षेत्रमा रहेका समग्र समस्या समाधानका लागि ‘संघीय यातायात प्राधिकरण’ गठन हुनुपर्नेमा उनको जोड छ ।

अध्यक्षका उम्मेदवार सिटौला भन्छन्, ‘यातायात क्षेत्र राष्ट्रको मेरुदण्ड हो। अर्बौँको लगानी र लाखौँ मजदुरको भविष्य जोडिएको यो क्षेत्रलाई राज्यले सधैँ उपेक्षा गरेको छ । अब हामी केवल आश्वासनले मान्ने वाला छैनौँ । नीतिगत स्पष्टता र व्यवसायीको पेसागत सुरक्षाका लागि मेरो नेतृत्व अपरिहार्य छ ।’

You might also like

Comments are closed.