हामीले क्यान इन्फोटेकको १२औं संस्करण आयोजना गरेका छौं । पोखरा उद्योग वाणिज्य संघले केही फरकखालको मेला गर्ने भनेर हामीसँग सहकार्यका लागि प्रस्ताव गर्यो । सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राखेर मेला आयोजना गर्ने भनेपछि हामीले सहकार्य गर्ने निर्णय गर्यौं ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा माघ १० गते सुरु भएको मेला माघ १७ सम्म चल्नेछ । मेलामा डोममा सूचना प्रविधिसँग सम्वन्धित ७० भन्दा धेरै स्टल छन् । मोबाइल वितरक संघ, क्यान कास्की र सिएसआइटीका साथीहरुसँग सहकार्य गरेर डोममा सूचना तथा प्रविधिसँग सम्बन्धित स्टलहरु बनाउने र व्यवस्थापन गर्ने काम हामीले गरेका छौं ।
क्यान अन्तर्गत कम्प्युटर, ल्यापटप, प्रिन्टर, पावर व्याकअप, राउटर नेटवर्किङ लगायतका स्टल राखिएको छ । आइटी तथा कम्प्युटर शिक्षा प्रदायक संस्थाहरुको पनि सहभागिता छ । सफ्टवेयर, नयाँ नयाँ इन्नोभेसनका सामान डिस्प्ले पनि भएका छन् । विद्यार्थीको प्रोजेक्ट पनि प्रदर्शन गरेका छन् । रोवोटिक्स, एआइ लगायतका प्रोजेक्ट पनि देखाउने काम भइरहेको छ । विभिन्न गेमहरु दर्शकका लागि आकर्षक बनेका छन् । मोबाइलतर्फ विश्वभर चलेका नेपालका लिडिङ ब्राण्डहरुको प्रदर्शनले आकर्षण थपेको छ । एउटै छानमुनी धेरै प्रविधि तथा ब्राण्डको अवलोकन गर्न सकिन्छ । सूचना तथा प्रविधिका क्षेत्रमा चासो राख्नेहरुका लागि क्यान इन्फोटेक उत्कृष्ट गन्तव्य बन्नेमा हामी विश्वस्त छौं ।
बिगतमा क्यान इन्फोटेक छुट्टै, मोबाइल मेला छुट्टै हुने गथ्र्यो । सँगै गर्दा प्रभावकारी हुने र दर्शकलाई पनि सहज हुने हामीले महसुस गर्यौं । उद्देश्य मिल्ने भएकाले पनि हामीले मेलामा सहकार्य गरेका हौं ।
कोभिडको समयपछि क्यान इन्फोटेक हुन सकेको थिएन । अहिले सबै सदस्य तथा साथीहरुको सक्रियतामा वृहत मेला आयोजना भएको छ । हाम्रो कार्य क्षेत्रलाई सूचना प्रविधिका हिसाबले अगाडि बढाउने काममा पनि हामी लागिरहेका छौं । यसका लागि स्थानीय तथा प्रदेश सरकारसँग पनि सहकार्य गर्छौं ।
कुराकानीमा आधारितः
Comments are closed.