पोखरा । पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शनिबार विज्ञान हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । दुवै प्रतियोगितामा गोरखाको ओल्ड क्यापिटल स्कुलका विद्यार्थी प्रथम भएका छन् ।
हाजिरीजवाफ प्रतियोगिता संयोजक रामप्रसाद सुवेदीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका ५० टिमले भाग लिएका थिए । हाजिरीजवाफमा गोरखाको ओल्ड क्यापिटल स्कुलका प्रसिद्धिका अर्याल, विशेष महरट्ठा र ऋचा मरहट्ठाको टिम प्रथम हुँदै २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र पाए । त्यस्तै पोखराको भास्कर मेमोरियल स्कुलकी अदिती पौडेल र कृति पाण्डे तथा वेष्ट प्वाइन्टका सम्देश तिवारीको टिम दोश्रो हुँदै १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाएका छन् ।
अमरसिंह नमूना माविका उत्सव पौडेल, सपना यादव र अनिष बमजनको टोली तेश्रो हुँदै १० हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र पाए । पोखराको जिबिएसका अमन पाण्डे, विष्णुप्रसाद पहारी र शिशु निकेतनका अविनाश पौडेलको टिम चौथो भएर ५ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र हात पारे । ‘विद्यार्थीमा अध्ययनको शिलशिलालाई निरन्तरता दिलाउनका लागि यो प्रतियोगिता आयोजना गरिएको हो । परीक्षा सकेपछि पनि विद्यार्थीलाई अध्ययनमा सक्रिय राख्न यस्ता गतिविधि सहयोगी हुन्छन,’ सुवेदीले भने ।
त्यस्तै विद्यालयमा शनिबार नै वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगिता संयोजक डा. बोधराज ढकालका अनुसार ‘प्रतिभा पलायन र यसले पारेको प्रभाव’ शीर्षकमा विद्यार्थीले विचार व्यक्त गरेका थिए । वक्तृत्वकलाका निर्णायकमा जिवनसागर भण्डारी, कमल कोइराला र डोलराज अर्याल थिए । ढकालका अनुसार प्रतियोगितामा गोरखाको ओल्ड क्यापिटल स्कुलकी प्रसिद्धिका अर्याल प्रथम हुँदै ७ हजार रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र पाइन । त्यस्तै लमजुङको कुशुमाकर माविका सचित घिमिरे दोश्रो हुँदै ५ हजार प्राप्त गरे ।
पोखराको बालोदय बोर्डिङ स्कुलकी एलिशा भुषाल तेश्रो हुँदै ३ हजार रुपैयाँ र स्याङजाको चण्डिका माविकी दिक्षा क्षेत्रीले सान्त्वना पुरस्कार स्वरुप एकहजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा २१ जना विद्यार्थी सहभागि थिए । ‘विद्यार्थीले लुकेको क्षमता देखाउने अवसर वक्तृत्वकलामार्फत पाएका छन,’ ढकालले भने, ‘आफ्नो पहिचान फराकिलो बनाउने यो अवसर पनि हो ।’
विद्यालयले संचालन गरेको ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत शनिबार हाजिरीजवाफ र वक्तृत्वकला आयोजना गरिएको थियो । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले असार १ देखि फेयर सुरु गरेको हो ।
विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीलाई अध्ययनमा जोडिराख्नका लागि हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको बताए । ‘एसइइ दिएपछि विद्यार्थी निष्कृय भएर बस्ने गर्छन । विद्यार्थीलाई निष्कृय हुन नदिनका लागि हामीले शैक्षिक गतिविधिसँग जोड्नेगरि रचनात्मक कार्यक्रम आयोजना गरेका हौ,’ उनले भने, ‘रचनात्मक कार्यक्रमले विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउने अवसर दिलाउँछ । विद्यार्थीमा फरक क्षमता पहिचान गर्नका लागि पनि यस्ता शैक्षिक गतिविधि आवश्यक छ ।’
विद्यालयले एकसातादेखि फेयरका विभिन्न कार्यक्रम गर्दै आएको छ । यसअघि विभिन्न्न खेलकुदका कार्यक्रम आयोजना गरेको थियो । असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि तथा शनिबार हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएकोे प्राचार्य सापकोटाले जानकारी दिए ।
विद्यालयले अघिल्ला वर्ष पनि एसइइ दिएका विद्यार्थीका लागि यस्तै कार्यक्रम आयोजना गरेको थियो । प्राचार्य सापकोटाका अनुसार विद्यालयले खुलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरि २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिनेछ ।
Comments are closed.