काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार भएको निर्वाचनमा पुनः दोस्रो कार्यकाल लागि नेतृत्व प्राप्त भएपछि सिंहले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै आफूलाई ठूलो जिम्मेवारी थप भएको बताएका छन् ।
सार्वजनिक खरिद नियमालीमा आएको कुरालाई संशोधन गरेर सार्वजनिक खरिद ऐनलाई पूर्वाधार मैत्री र विकास मैत्री बनाउने उनले प्रतिबद्धता जनाए । अत्याधिक रुपमा मूल्य बृद्धि भइरहेको बताउँदै उनले मूल्य वृद्धि निर्देशिका जारी गराउने बताए ।
‘कामको समानुपातिक अवसर सिर्जना गर्न पाँच वटा प्याकेजलाई संस्थागत गनेछु,’ उनले भने । निर्माण कम्पनीहरुको बृद्धि विकास गर्नका लागि ६० प्रतिशतको सर्टिफिकेटलाई संस्थागत गराउने, सदाको लागि कार्टेलिङको अन्त्य गराउने लगायतका प्रतिबद्धता सिंहले गरेका छन् ।
मुलुकको सम्पूर्ण विकास निर्माणको काममा एक दर्जन भन्दा कम कम्पनीले ८० प्रतिशत भन्दा बढी ओगट्ने विकृतिको अन्त्य गर्ने पनि उनले बताए । ठूला कम्पनीहरुको विचौलिया प्रथाको अन्त्य गर्ने उनको भनाइ छ । निर्माण उद्योग र देश विकासमा अनियमितता रहित निर्माण उद्योगको विकास गनले उनले बताए ।
केसी लोकप्रिय मतका साथ अध्यक्षमा पुनः अध्यक्ष निर्वाचित भएका हुन् । सिंहले ८०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी निकोलस पाण्डेले ३४२ र हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरेका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा एडी लामा, प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।
महासचिवमा रोशन दाहाल, उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भए । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ विजयी भए भने सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन् ।
Comments are closed.