महाकालीमा जलयात्रा शुरु, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास

बैतडी । महाकाली नदीमा जलयात्रा (¥याफिटङ) शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो ।

दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो । महाकाली नदीमा जलयात्राको सम्भावना रहेको बारे जानकारी गराउन र्याफ्टिङ गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । उनले भनिन्, “महाकाली नदीमा जलयात्राको सम्भावना रहेकाले अबका दिनमा यसलाई निरन्तरता दिनका लागि पहल गरिनेछ ।”

जलयात्रा शुरु गर्न सके सीमा क्षेत्रमा पर्यटकहरुलाई समेत भित्र्याउन सकिने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । महाकाली नदी भारतसँग जोडिएकाले जलयात्रालाई निरन्तरता दिन सके भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताए । “यो क्षेत्रमा सहजरूपमा जलयात्रा सञ्चालन गर्न सकिने देखिएको छ, यसले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्छ”, उनले भने ।

सेरादेखि झुलाघाटसम्मको जलयात्रामा नगरपालिकाका प्रमुख थापा, उपप्रमुख चन्द, उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द, रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशी, महिला सशक्तीकरण केन्द्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.