काठमाडौं । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठसँग अटोमोबाइल व्यवसायमा झण्डै २५ वर्षको लामो अनुभव छ । अटोमोबाइल व्यवसायमा देशभर सबैभन्दा ठूलो सञ्जाल बनाउन सफल सिप्रदीको नेतृत्व गरिरहेका श्रेष्ठ अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडामा पनि आबद्ध छन् । नाडाको बर्तमान कार्यसमितिमा रहेर काम गरिरहेका उनी आगामी कार्यकालका लागि पनि कार्यसमिति सदस्य पदमा उम्मेदवार बनेका छन् ।
मंसिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा अन्तर्गतको निर्वाचनमा उनले अध्यक्षका उम्मेदवार करण चौधरी प्यानलबाट उम्मेदवारी दिएका छन् । चौधरी प्यानललाई जिताउन अपिल गर्दै श्रेष्ठ चुनावी अभियानमा होमिएका छन् । चुनावी अभियानका क्रममा देश दौडाह सकेर निर्वाचनको अन्तिम तयारीमा श्रेष्ठसहितका उम्मेदवारहरु जुटेका छन् । नाडाको भावी अध्यक्षका रुपमा समेत हेरिएका श्रेष्ठलाई बर्तमान कार्यसमितिको उपाध्यक्षका रुपमा समेत हेरिएको छ । उनी उपाध्यक्ष बन्नका लागि भने कार्यसमिति सदस्यमा विजयी हुनैपर्छ भने आफू अनुकुलको टिमको बहुमत पनि आवश्यक छ ।
नाडालाई सुदृढ बनाउनका लागि सक्षम टिम आवश्यक पर्ने बताउँछन् श्रेष्ठ । ‘अटो व्यवसायको सबै क्षेत्रलाई समेटेर हामीले प्यानल बनाएका छौं,’ उनले भने, ‘जति पनि साथीहरु छन् सबै सक्षम र अनुभवी छन् । अनुभवी र युवा पुस्ताको समिश्रण पनि छ ।’ नाडामा आइसकेपछि अटोमोबाइल व्यवसायीहरुको हकहितमा काम गर्नसक्ने सक्षम टिम आफूहरुसँग रहेको उनको दावी छ । ‘कन्ट्रिव्युट गर्न सक्ने खालको टिम हामीसँग छ,’ उनले भने, ‘नाडालाई अर्को उचाईसम्म पुर्याउन सकिन्छ भन्ने लागेको छ ।’
देशभरबाट राम्रो प्रतिक्रिया आइरहेको बताउँदै श्रेष्ठले आफ्नो प्यानलको जित सुनिश्चित भएको दावी गरे । ‘भोटरको आधारमा हाम्रो जित सुनिश्चित छ,’ उनी भन्छन्, ‘सबै व्यवसायीलाई समेटेर नाडाको गरिमा बढ्ने गरी काम गर्नेछौं ।’
Comments are closed.