आगामी वैशाख १७ गतेदेखि ‘चितवन अटो शो २०२६’ हुँदैछ । अटो शोको तयारी कस्तो छ ?
चितवन अटो शोको दोस्रो संस्करणको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । हामीले भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा अटो शो गर्दैछौं । अटो शोको व्यवस्थापनको कामलाई तीव्रता दिएका छौँ । ७५ वटा स्टलहरूको बुकिङ लगभग सकिएको छ । यो पटक हामीले चितवन अटोमोवाइल डिलर्स एसोसिएसन र चितवन अटोमोवाइल्स एसोसिएसन मिलेर संयुक्त रूपमा आयोजना गरेकाले पनि उत्साह निकै बढी छ । प्रशासनिक तयारी, सुरक्षा व्यवस्था र प्रदर्शनीको लेआउट सबै तयारी पुरा भइसकेका छन् ।
अटो शोमा दर्शक र ग्राहकले नयाँ के कुरा देख्न पाउनेछन् ?
यो केवल गाडीहरूको प्रदर्शनी मात्र होइन, अटोमोबाइल क्षेत्रको एउटा उत्सव हो । यस पटक हामीले परम्परागत र आधुनिक प्रविधिको मिश्रणलाई नजिकबाट अनुभव गर्न सक्नेछौं । पुराना र ऐतिहासिक ‘भिन्टेज’ गाडीहरूले आकर्षण थप्नेछ । नेपालमा चलेका प्राय सबै ब्राण्डहरु प्रदर्शनमा रहनेछन् । बैंक र इन्स्योरेन्स कम्पनीहरूका स्टलहरू रहनेछन्, जसले गर्दा ग्राहकले ‘अन द स्पट’ फाइनान्स र इन्स्योरेन्स सुविधा पाउनुहुनेछ ।
थप अन्य गतिविधिहरु पनि समावेश छन् कि ?
गाडीहरुको प्रदर्शनी मुख्य प्राथमिकता हो । त्यसका साथै अटो शोमा दर्शक आकर्षित गर्न अन्य गतिविधिहरु पनि समावेश छन् । मोटरसाइकल स्टन्ट, जिमखाना र टिडिएस ¥याली जस्ता साहसिक गतिविधिहरू हुनेछन् । साथै स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिले माहोल थप रमाइलो बनाउनेछ । अटो शोको तेस्रो दिन विज्ञहरूबाट ‘अटो सेमिनार’ र चौथो दिन विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको ‘हेल्मेट वितरण र सचेतना’ कार्यक्रम राखेका छौँ ।
अटोमोबाइल बजारमा अटोे शोको प्रभाव कस्तो रहने अपेक्षा गर्नुभएको छ ?
देशको समग्र आर्थिक मन्दीको असर अटोमोबाइल क्षेत्रमा पनि परेको छ । तर, अटो शोले उपभोक्तामा आत्मविश्वास जगाउने काम गर्नेछ । हामीले यो शोमार्फत करिब ५० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखेका छौँ । नयाँ प्रविधि, विशेष छुट र आकर्षक स्किमहरूका कारण बजारमा यसले निश्चित रूपमा सकारात्मक ऊर्जा थप्नेछ । व्यवसायी र ग्राहकबीचको दूरी घटाउन यो एउटा पुल बन्नेछ ।
अहिले विद्युतीय सवारी साधन (इभी) को चर्चा धेरै छ, यस पटकको शोमा इभीलाई कस्तो प्राथमिकता दिइएको छ ?
अहिलेको बजार इभीमय नै छ । यस पटकको शोमा विद्युतीय सवारी साधन र नवीन प्रविधिबारे उपभोक्तालाई जानकारी गराउनु हाम्रो मुख्य उद्देश्यमध्ये एक हो । विभिन्न ब्राण्डका पछिल्ला इभी मोडलहरू यहाँ प्रदर्शन गरिनेछन् । इभीको भविष्य, यसको सञ्चालन खर्च र वातावरणमा पर्ने प्रभावबारे पनि हामीले जानकारी दिने प्रबन्ध मिलाएका छौँ ।
अटो शोमा अवलोकनकर्ताका लागि के-कस्ता अफर र पुरस्कारको व्यवस्था छ ?
हामी चाहन्छौँ कि यहाँ आउने हरेक अवलोकनकर्ताले केही न केही उत्साह लिएर फर्किऊन् । अवलोकनकर्ताहरू मध्येबाट ३ जना भाग्यशाली व्यक्तिलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिनेछ । सामाजिक सञ्जाल (इन्स्टाग्राम, टिकटक, फेसबुक रिल) मा हाम्रो कार्यक्रमको भिडियो बनाएर बढी भ्युज र शेयर पाउनेलाई पनि हामी पुरस्कृत गर्नेछौँ । गाडी खरिद गर्ने ग्राहकका लागि कम्पनीहरूले विशेष प्रदर्शनी छुट र आकर्षक उपहार योजनाहरू ल्याएका छन् । यसको लाग ग्राहकलाई हुने नै छ ।
चितवनलाई अटोमोबाइल हबका रूपमा विकास गर्न अटो शोले थप योगदान गर्न सक्छ ?
चितवन भौगोलिक रूपमा देशको मध्यभागमा छ, जसले गर्दा यो व्यापारिक ट्रान्जिट प्वाइन्ट हो । हामीले यो अटो शोलाई निरन्तरता दिएर चितवनलाई देशकै प्रमुख अटोमोबाइल गन्तव्य बनाउन खोजिरहेका छौँ । यस पटक भरतपुर महानगरपालिका, चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघको सहयोगले हामीलाई थप हौसला मिलेको छ । यो मेलाले चितवन लगायत समग्र देशको आर्थिक क्षेत्रलाई नै चलायमान बनाउन मद्दत पुग्नेछ ।

दुईवटा एसोसिएसन मिलेर अटो शो आयोजना गर्नुको उद्देश्य बारे केही बताइदिनुहुन्छ कि ?
चितवन अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष मोहन केसी र चितवन अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष ईन्द्रप्रसाद रेग्मीसहित दुई वटै संस्थाको टिम अटो शोलाई भव्य बनाउन सक्रिय भइरहेको छ । दुई संस्थाको एकता र सहकार्यले कार्यक्रमको गरिमा बढाएको छ । हामी सबैको एउटै उद्देश्य भनेको अटोमोबाइल क्षेत्रको व्यावसायिक प्रवद्र्धन नै हो । हामी यही उद्देश्यका साथ दुवै संस्थालाई जोडेर अगाडि बढेका छौं ।
अन्त्यमा, अवलोकनकर्ता र व्यवसायीहरूलाई के भन्न चाहनुहुन्छ ?
म सम्पूर्ण उद्योगी, व्यवसायी, विद्यार्थी र सर्वसाधारणलाई यो ऐतिहासिक अटो शो अवलोकनका लागि निमन्त्रणा गर्दछु । १० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने हाम्रो अपेक्षा छ । यहाँ तपाईंले संसारका नवीनतम प्रविधि देख्न पाउनुहुनेछ, नयाँ गाडीको अनुभव गर्न पाउनुहुनेछ र सचेतनामूलक कार्यक्रमबाट केही सिक्नुहुनेछ । महिन्द्राको मुख्य प्रायोजन र एमजीको सह–प्रायोजनमा हुन लागेको यो भव्य उत्सवलाई सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।






Comments are closed.