काठमाडौं । पछिल्लो समय इलेक्ट्रिक भेइकल (इभी) साधनको प्रयोग बढ्दै गएको छ । सरकार आफैले इभीको प्रयोग बढाउन विभिन्न नीति समेत ल्याएको देखिन्छ । तथापि, यसमा सरकारको आफ्नै स्थिर नीति देखिन्न । नयाँ प्रयोगको रुपमा रहेको इिभीलाई कसरी दीगोपना दिने भन्ने विषयमा सम्बन्धित निकायको ध्यान नपुगेको व्यवसायीको गुनासो छ । समग्र अटोमोवाइल व्यवसाय, इभीप्रतिको आमनागरिकको धारण र इभीको भविष्य लगायतका सन्दर्भमा रहेर नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालका उपाध्यक्ष एवं इभी समितिका सभापति राजनबाबु श्रेष्ठसँग आर्थिक आवाजले गरेको कुराकानी :
अटोमोवाइल व्यवसायको अहिलेको अवस्थालाई यहाँले कसरी हेर्नुभएको छ ?
अटोमोबाइल क्षेत्रमा अझै पनि सुधार हुन सकेको छैन । त्यसमा पनि कमर्शियल भेइकलमा कुनैपनि किसिमको परिवर्तन आएको छैन । व्यापार व्यवसाय एकदमै कमजोर भएको छ । मुख्य कुरा जब भौतिक निर्माणका क्षेत्रका काम अगाडि बढ्दैन तबसम्म गाडीको माग बढ्दैन । एकातिर माग छैन, अर्को कुरा बैंकले फाइनान्स गरेको छैन । हामीले निरन्तर सरकारसँग, राष्ट्र बैंकसँग सहजता प्रदान गर्न आग्रह गर्दै आएका छौं ।
यो क्षेत्रमा सबैभन्दा पहिलो कुरा डिमाण्ड नै कम भयो । विकासको कामहरु नहुँदा डिमान्ड घट्यो । हाम्रो व्यापार ८५ देखि ९० प्रतिशत घटिसक्यो । प्यासेन्जर भेइकलमा, अलिकति इलेक्ट्रिक भेइकलमा बैंकहरुबाट फाइनान्स भइरहेको छ । यसमा अर्को सबैभन्दा ठूलो प्रभाव भनेको ब्याजदरले नै हो । यो सबै समस्याहरुका कारण अटोमोवाइल क्षेत्रमा कुनै पनि किसिमको करेक्शन हुन सकेको छैन । जोखिम भार १५० बनाएपछि त्यसले झन् एकदमै ठूलो असर पारेको छ । जोखिम भार पहिला ७५ प्रतिशत थियो, अहिले १५० हुन्छ भने त्यत्रो जोखिम किन लिने त ? बैंकहरुको भनाइ पनि ठिकै हो । यसलाई सरकारले सहजीकरण गरिदिएको भए हुन्थ्यो भन्ने हाम्रो भनाई हो ।
तपाईं अहिले नाडामा ईभी सभापति भएर काम गरिरहनु भएको छ । पछिल्लो समय ईभीमा आकर्षण देखिन्छ । ईभीमा सम्भावना कस्तो देख्नहुन्छ ?
पछिल्लो समय विश्वप्यापी रुपमै हेर्ने हो भने पनि सबै इ–मोबिलिटीतिर गइरहेको छ । त्यसमा नेपाल सरकारले पनि इ–मोबिलिटीलाई प्रवद्र्धन गर्न खोजिरहेको छ । हाम्रो जस्तो जलविद्युतमा सम्पन्न देशमा विद्युत उत्पादन पनि त्यही अनुसार भइरहेको छ । जुन किसिमले अहिले नेपालमा विद्युत उत्पादन भइरहेको छ, त्यो पावर के गर्ने त ? अर्कोतर्फ हाम्रो देशबाट सबैभन्दा बढी विदेशी मुद्रा खर्च हुने पेट्रोलियम पदार्थमा हो । यी दुईलाई सन्तुलन गर्नका लागि पनि सरकारले अहिले विद्युतीय (इलेक्ट्रिक) सवारी साधानलाई प्रवद्र्धन गर्ने सबैभन्दा राम्रो नीति लिएको छ ।
सरकारले यस्तो नीति लिएसँगै यसप्रति सर्वसाधारणको आकर्षण पनि बढ्दै गएको छ । पहिला नागरिकमा विद्युतीय सवारी प्रभावकारी छ कि छैन भन्नेमा अन्योल थियो । अहिले चलेका विद्युतीय सवारी साधनहरु प्रभावकारी देखिएसँगै अन्योल हटेर गएको छ । अहिले देशभर चार्जिङ स्टेशनहरु बनिसकेका छन् । त्यसले गर्दा अहिले विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेइकल) चार्ज गर्न पनि त्यति समस्या छैन । यसले पनि इभीप्रतिको आकर्षण एकदमै बढेर गएको छ । यहाँ समस्या उपलब्धतामा देखिएको छ । अहिले माग एकदमै धेरै भएपनि सप्लाई गर्न नसक्दा इलेक्ट्रिक भेइकलको जुन किसिमले नम्बर बढ्नुपर्ने हो त्यसरी बढ्न सकेको छैन ।
अहिले इलेक्ट्रिक भेइकलप्रति आम मानिसको धारणा परिवर्तन भएको हो ? कसरी हेर्नु भएको छ ?
पहिला मान्छेहरुले डिजेल पेट्रोलका गाडी हेरेर अनि मात्रै इलेक्ट्रिक पनि हेरौं न भन्ने थियो । तर, अहिले डिजेल पेट्रोलका नहेरेरै इलेक्ट्रिक मात्रै हेरेर गाडी किन्ने उपभोक्ता धेरै छन् । त्यसकारण इलेक्ट्रिक भेइकलप्रति मान्छेको धारणा पूर्णरुपमा परिवर्तन हुँदै गएको छ । किनभने एउटा त सरकारले पनि प्रमोशन गरिरहेको छ । अर्को कुरा यसमा अपरेटिङ कस्ट एकदमै कम छ । नेपालमा लङ ड्राइभ गर्नेहरु एकदमै कम छन् । सामान्यरुपमा दिनमा ५०/६० किमी चलाउँछन् । त्यसले गर्दा एकपटक चार्ज गर्ने हो भने एक सातालाई पुग्छ । अर्को कुरा यसमा ड्राइभिङ गर्न पनि सजिलो छ । यी सबै कुराहरुले पनि यसमा मानिस आकर्षित हुँदै गएका छन् ।
देशभर सिप्रदीको सर्भिसिङ नेर्टवर्क कति छन् ?
टोटल कमर्शियलको मात्रै हेर्ने हो भने करिब ६० वटा छन् । प्यासेन्जरको पनि अहिले ३५ वटा जति भइसकेको छ । इलेक्ट्रिकमा सबैभन्दा धेरै हामीले काम गरिरहेका छौं । प्रत्येक ६० किलो मिटरमा हामीले चार्जिङ स्टेशन राखिरहेका छौं । त्यसमा पनि कतिपय ठाउँमा दुई/दुई वटा चार्जर पनि राखिरहेका छौं । अर्को सबैभन्दा ठूलो काम भनेको ट्रेनिङ सेन्टर हो । हामीले इलेक्ट्रिक गाडीका लागि जुनसुकै प्राविधिक चाहिए हामीले बाहिर पठाउनै पर्दैन । त्यसका लागि सम्पूर्ण सुविधासहितको टे«ेनिङ सेन्टर हामीले बनाइसकेका छौं । अर्को काम हामीले गरेको भनेको ब्याट्री रिपेयरिङ सेन्टर हो । यो लगभग तयार भइसकेको छ । अब ब्याट्री बिग्रियो भने ब्याट्री पुरै फेर्नु पर्दैन ।
टाटा अनि सिप्रदीले कष्टुमर केयरलगायतका कुराहरुमा पछिल्लो समयमा गरेका कुराहरु के–के छन् ?
अहिले हामीले धेरै नै काम गरिरहेका छौं । सबैलाई गाह्रो भइरहेको अहिलेको स्थितिमा टाटा र सिप्रदी मिलेर कर्मशियल भेइकलमा गाडीको सञ्चालन खर्च कसरी घटाउने त्यसमा काम गरेर अहिले २२ देखि २५ प्रतिशतसम्म मुल्य घटाइ दिएका छौं । त्यसमा टाटाले पनि हामीलाई धेरै सहयोग गरिरहेको छ । अर्को कर्मशियल भेइकलमा एक्सिडेन्टल रिपियरमा जस्तोसुकै दुर्घटनामा परेको गाडीलाई ४५ देखि ६० दिनमा निकाल्न सकिने गरी काम गरिरहेका छौं । जसमा पहिला भने एकदमै समय लाग्ने गरेको थियो ।
Comments are closed.