‘वैदेशिक रोजगार व्यवसायी र कामदारहरुको अहितमा कुनै पनि सम्झौता हुनु हुँदैन’

राजेन्द्र भण्डारी, अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

नेपालबाट वैदेशिक रोजगारीमा लाखौं युवाहरु गएका छन् । विशेष गरी गल्फ र मलेसियामा जानेको संख्या बढी छ । पछिल्लो समय युरोपमा जाने क्रम पनि सुरु भएको छ । रोजगारीमा विदेश जानेहरुका लागि सेवा प्रदान गर्न रोजगार व्यवसायीहरु सक्रिय छन् । वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई रोजगार व्यवसायीहरुले गर्ने सहयोग महत्वपूर्ण रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । नेपाल र रोजगारादाता देशहरुमा भइरहने परिवर्तित नीतिहरुका कारण व्यवसायी र रोजगारमा जाने नेपालीहरु दुःख पाउने गरेको उनले बताए । यसैक्रममा वैदेशिक रोजगार व्यवसायीहरुले भोग्नु परेका समस्या लगायत विविध विषयमा केन्द्रित रहेर अध्यक्ष भण्डारीसँग गरिएको कुराकानीः

वैदेशिक रोजगारीका क्षेत्रमा पछिल्लो समय के कस्ता समस्याहरु देखिएका छन् ?

अहिले वैदेशिक रोजगार व्यवसायका सन्दर्भमा विभिन्न समस्याहरु देखिएका छन् । सरकारी तथा विदेशी दुवैतर्फबाट देखिएका समस्याको मारमा हामी व्यवसायी छौं । विशेष गरी पछिल्लो समयमा वैदेशिक रोजगार बोर्डले मलेसियाको निजी कम्पनी एफडब्लुडब्लुएमसीसँग गरेको सम्झौताप्रति हाम्रो गम्भिर आपत्ती छ । कामदार र व्यवसायीलाई अप्ठ्यारो पार्ने र नियन्त्रण गर्ने उद्देश्य अनुसार उक्त सम्झौता भएको हो । यो सम्झौता रद्ध गर्न प्रधानमन्त्रीबाट निर्देशन आइसकेको अवस्था छ । त्यसलाई नहटाउने हो भने हामी कामदार तुरुन्त पठाउन सक्दैनौं भनेर व्यवसाय बन्द गर्नुपर्ने हुन्छ । जुनसुकै हालतमा पनि सम्झौता खारेज गर्नुपर्छ भन्ने हाम्रो माग छ । वैदेशिक रोजगार व्यवसायी र कामदारहरुको अहितमा कुनै पनि सम्झौता र निर्णयहरु हुनु हुँदैन भन्ने हाम्रो माग हो ।

jutta mela

साउदी पठाउँदा बायोमेट्रिक गर्नुपर्ने भन्ने कुरा पनि आएको छ । यसमा एसोसिएसनको धारणा कस्तो छ ?

हामीले जति पनि कामदार साउदी अरब पठाउछौं ती कामदारको बायोमेट्रिक गर्नुपर्छ भन्ने कुरा आएको छ । अहिले तुरुन्तै बायोमेट्रिक गर्नुपर्दैन । साउदी अरब जाने कामदार सुरक्षाका लागि हो भने नेपालबाट मेडिकल रिपोर्ट बनाएर जान्छन् । त्यसमा पुलिस रिपोर्ट पनि हुन्छ । मेडिकलसँगै बायोमेट्रिक चिन्ह थप्न सकिन्छ । छुट्टै गर्नु आवश्यक छैन । बायोमेट्रिक लागु गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौं । साउदी अरबको दुतावासले बायोमेट्रिक लागु गर्दा समस्या थपिएका छन् । करिव ९ सय ३१ व्यवसायी छन् । दुतावासले ३ सय कार्ड दिएको छ । व्यवसायीले मागपत्र साउदी अरबबाट ल्याउँछन् । तर यहाँँ दुतावासले रोकिदिन्छ । आइडी कार्डको नाममा पनि सिण्डिकेट छ । यसलाई पनि हटाउनुपर्छ भनेर हामी लागिरहेका छौं ।

सरकारी निर्देशिकाहरुको सन्दर्भमा तपाईंको भनाइ के छ ?

सरकारले विभिन्न किसिमका निर्देशिका ल्याउने गरेको छ । ट्रेनिङ सेन्टर अनिवार्य गरेर तथा विभिन्न मापदण्ड राखेर ल्याएको कार्यविधि पनि ठिक छैन । कामदारले अनिवार्य भाषा अध्ययन गर्नुपर्ने भन्ने कुरा पनि आउने तयारीमा छ, यसमा पनि हाम्रो असहमति छ । सिप विकास अनिवार्य छ तर भाषा अध्ययनको विषय ठिक छैन । यसले कामदारलाई अनावश्यक बोझ थप्छ ।

भिजिट भिसाको कुरा पनि आइरहेको छ । यसबाट के समस्या भएको छ ?

भिजिट भिसा र इन्डिभिज्युअल भिसाको समस्या पनि ठुलो छ । कामदारहरु भिजिट भिसामा वैदेशिक रोजगारीमाा गए । त्यसमा वैदेशिक रोजगारको नाम मात्र आउँछ । यसलाई सरकारले तुरुन्त बन्द गर्नुपर्छ । विदेश जाने कामदारले श्रम तथा रोजगार मन्त्रालयको माताहतमा रहेको वैदेशिक रोजगार कार्यालयबाट स्वीकृति लिनुपर्छ । व्यक्तिगत रुपमा स्वीकृति लिएर ठुलो संख्यामा कामदार विदेश गइरहेका छन् । यसो गर्दा को कता जान्छन्, कसले भिसा दियो, केही थाहा हुँदैन, अन्धाधुन्ध रुपमा स्वीकृति दिनु पनि गलत छ । स्किल भएका तथा जानसक्नेका लागि त ठिक तर केही थाहा नपाई जानेहरु समस्यामा पर्ने गरेका छन् । यसतर्फ पनि सरकारको ध्यान जान जरुरी छ ।

सेवा शुल्कका सन्दर्भमा एसोसिएसनले कसरी आवाज उठाइरहेको छ ?

हामीले विदेश जाने कामदारको सेवा शुुल्कका बारेमा पनि माग गरिरहेका छौं । जिरो कस्ट भनिएको छ तर कामदार धेरै महंगोमा परिरहेका छन् । अब कामदार विदेश जाने क्रममा लाग्ने खर्चको निर्धाण शीर्षक अनुसार गर्नपर्छ । कुन शीर्षकमा कति खर्च हुन्छ भन्ने कुरा कामदारले पनि थाहा पाउनुपर्छ । खर्च कामदारले व्यहोर्ने हो कि, मेनपावरले ल्याएको हो कि, अरु कुनै संस्थाले ल्याएको हो ब्रेक डाउन हुनुपर्छ र कस्ट निर्धारण हुनुपर्छ । त्यसमा व्यवसायीको सेवा शुल्क पनि निर्धारण हुनुपर्छ । कामदारको धेरै लागत पर्ने तर फेरी जिरो कस्ट भन्ने गरियो भने यसरी व्यवसाय संचालन गर्नसक्ने अवस्था रहदैन । यस विषयमा पनि प्रस्ट हुनुपर्छ भनेर हामीले सरकारसँग माग गरेका छौं ।

त्यस्तै, माग प्रमाणीकरणको विषय पनि महत्वपूर्ण छ । यहीबाट माग प्रमाणीकरण गर्नुपर्छ भनेर हामीले भनिरहेका छौं ।

तपाईंहरुको व्यवसाय अझै पनि व्यवस्थित हुन किन सकिरहेको छैन ?

व्यवसायीले पहिलाभन्दा व्यवस्थित रुपले व्यवसाय संचालन गरेका छन् । कामदार पठाउँदा पनि धेरै कुरा ख्याल गरेको पाउछौं । व्यावसायिक भन्दा बढी सेवामुखी भएर काम गरेका छौं । व्यवसायीलाई समस्या परेको समयमा संघले पनि सहयोग गर्दै आएको छ । व्यवसायीकातर्फबाट गर्नुपर्ने आवश्यक काम हामीले गरिरहेका छौं ।

वैदेशिक रोजगारमा गएका व्यक्तिहरुबाट आएको रेमिट्यान्सको योगदान देशको अर्थतन्त्रमा महत्वपूर्ण रहँदै आएको छ । तर, रेमिट्यान्सको सदुपयोग भएन भनिन्छ । तपाईंको धारणा के छ ?

नेपालबाट वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था छ । नेपालमा रोजगारीको अवसर पनि खासै छैन । राम्रो अवसर खोज्नका लागि मानिस विदेश जाने हो । विदेश गएर कमाएको पैसा नेपालमा राम्रो सदुपयोग भएको छैन । यसलाई सदुपयोग गर्नुपर्छ । वैदेशिक रोजगारको क्षेत्रबाट गत वर्ष १३ खर्ब रेमिट्यान्स आएको छ । यो वर्ष १५ खर्ब पुग्ने अनुमान गरिएको छ । यसको करिव ४ प्रतिशत मात्र लगानीमा कन्र्भट भएको पाइन्छ । सरकारले विभिन्न योजना ल्याएर रेमिट्यान्सलाई लगानीमा कन्भर्ट गरिदिने हो भने नेपालमा पनि रोजगारीको सृजना गर्न सकिन्छ । वैदेशिक रोजगारबाट फर्केका कामदारको सिप पहिचान गरेर गर्न चाहेको कामका लागि सुविधासहित ऋण उपलब्ध गराउने र उद्यमी बनाउनतर्फ लाग्ने हो भने देश विकासमा रेमिट्यान्सले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । तर अहिले रेमिट्यान्सको सहि रुपमा सदुपयोग भएको छैन ।

रोजगारका लागि धेरै नेपालीहरु कुन देशमा जाने गरेका छन् ?

गल्फ कन्ट्री र मलेसियामा धेरै कामदार जाने गरेका छन् । युरोप जाने क्रम पनि शुरु भएको छ ।

तपाईं एसोसिएसनको अध्यक्ष भएको एक वर्ष भएको छ । यो अवधिलाई कसरी समिक्षा गर्नुहुन्छ ?

हामीले १ वर्षको अवधिमा धेरै काम गरेका छौं । व्यवसायीका हकहितमा लागिरहेका छौं । सरकारी तवरबाट यस क्षेत्रका लागि सम्बोधन गर्नुपर्ने कुराहरु सम्बोधन भएका छैनन् । सरकारी तवरबाट उदासिनता मात्र देखाएको पाउछौं । सरकारले चासो दिएर काम गरेको छैन । हामी सरकारसँग पोलिसीगत तहमा बढी जोडिएर दबाब दिनुपर्ने अवस्थामा छौं । सबैको साथ र सहयोगबाट यो व्यवसायलाई व्यवस्थित बनाउने अभियानमा हामी सफल भएका छौं ।

आगामी योजनाहरु केके छन् ?

व्यवसायलाई थप व्यवस्थित तथा मर्यादित बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्नेछौं । नेपालका व्यवसायीलाई विदेशमा रहेका कम्पनीसँग सिधा सम्पर्क गराउने गरि विभिन्न कार्यक्रम गर्ने छौं । व्यवसायीका समया समाधानका लागि सरकारी निकायसँग पहल गर्नेछौं । हाम्रो मुख्य उद्देश्य नै वैदेशिक रोजगार व्यवसायीको हितमा काम गर्ने हो ।

You might also like

Comments are closed.