काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि शनिबार प्रस्तुत बजेट अहिलेको अवस्थामा कार्यान्वन गर्न कठिन रहेको बताएका छन् ।
‘चालु वर्षमै पनि सरकारले बजेटको आकार र राजस्व उठौती लक्ष्य दुई पटक संसोधन गरेर घटायो,’ उनले भने, ‘अहिले हामी कोभिड–१९ को महामारीमै छौं र उद्योग व्यवसाय लगायत पर्यटन क्षेत्र धरासायीमा छन् । यस्तो अवस्थामा अहिले सरकारले राखेको राजस्वको लक्ष्य भेटाउन एकदमै कठिन छ ।’
बजेटले नेपाल चेम्बर अफ कमर्सले दिएका धेरै पक्षहरु समावेश गरेको मल्लले बताए । ‘तर यो चुनावी सरकार हो । विगतमा वर्षमा जस्तो स्थिर सरकार र कोरोना महामारी नभएको भए केही हदसम्म राम्रो छ,’ उनले भने, ‘तर, चुनावी सरकार भएका कारण कसरी कार्यान्वयनमा लैजान्छ त्यो हेर्नु जरुरी छ ।’
बजेटले जिडिपी वृद्धिदर साढे ६ प्रतिशतको लक्ष्य राखेको छ । कोरोना महामारीको अवस्थामा त्यो हासिल गर्न सकिँदैनकि भन्ने चिन्ता रहेको उनले बताए । ‘किनकि हामी सामान्य अवस्थामा हैन विषम परिस्थितिमा छौं,’ उनले भने । सरकारका अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्बको बजेट ल्याएका छन् ।
Comments are closed.