भन्सार प्रक्रियालाई सरल र व्यवसायीमैत्री बनाउनुपर्छ : राजेन्द्र संग्रौला

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ भन्सार समितिका सभापति राजेन्द्र संग्रौलाले आयात-निर्यात व्यवसायलाई सहज बनाउन भन्सार प्रक्रिया सरल, पारदर्शी र व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिएका छन् । संघद्वारा आयोजित ‘योजना तर्जुमा कार्यशाला’मा बोल्दै उनले भन्सारलाई केवल राजस्व उठाउने माध्यमका रूपमा मात्र नहेरी व्यापार सहजीकरणमा केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सभापति संग्रौलाले भन्सारमा दैनिकजसो विभिन्न समस्याहरू आउने गरेको भन्दै व्यवसायीहरूले भोग्नुपरेका ती जटिलता समाधान गर्न समितिले सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देशको कुल राजस्वमा भन्सार क्षेत्रको योगदान करिब २० प्रतिशत रहेको उल्लेख गर्दै उनले भने, ‘भन्सारको मुख्य भूमिका राजस्व सङ्कलनमा मात्र सीमित नभएर व्यापारको सहज प्रवाह (ट्रेड फलोअप) लाई प्राथमिकता दिनु हो ।’

भन्सार ऐन २०८३ मा करिब ३४ बुँदा थपिएको जानकारी गराउँदै उनले प्रत्येक भन्सारमा जाँचपासका लागि लाग्ने समयबारे अध्ययन भए पनि कतिपय स्थानमा त्यो व्यावहारिक र प्रभावकारी हुन नसकेकाले यसलाई तत्काल व्यवस्थित गर्नुपर्ने बताए । साथै, ट्रान्जिटका कारण आयात–निर्यातमा लागत (कस्ट) बढ्ने भएकाले यसको विरोध गरिएको समेत उनले स्पष्ट पारे ।

You might also like

Comments are closed.