विगतका वर्षदेखि युनाइटेड क्लवको आयोजनामा पोखरा महोत्सव हुँदै आएको छ । क्लवले आयोजना गरेको ११ औं पोखरा महोत्सवको अवसरमा महोत्सव आयोजना गर्नुको उदेश्य, क्लवले गर्दै आएका काम लगायतका वारेमा आर्थिक आवाजका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठसँग प्रेम पुन्थोकीद्वारा गरिएको कुराकानी :
पोखरा महोत्सव यस क्षेत्रकै उत्कृष्ट महोत्सव हो, विगत भन्दा यस पटक दर्शकले के फरक पाउँछन् ?
हामीले यस अघि गरेका पोखरा महोत्सवका सबै संस्करण आफैमा विशेष थिए । महोत्सवलाई कसरी नयाँपन दिने भन्ने कुरामा हाम्रो चासो रहन्छ । यो पटक पनि हामीले केही नयाँपन दिएकै छौं । पशुपन्छी अवलोकनको वातावरण मिलाउने, उँट सवार, हात्ती सवार जस्ता मनोरञ्जनका क्रियाकलाप हामीले गर्दै आएका छौं । यस पटक पनि ति रहन्छन् नै । एघारौं पोखरामा विशेष गरि हामी अरु महोत्सवमा नगरिएको घोड सवार र लोक संस्कृति रक्षामा हाम्रो उद्धेश्य रहेकोले विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता राखेका छौं । साथै महोत्सवमा गाउँघरमा लोप हुन लागेको काठे पिङ (रोटे पिङ) देखि नयाँ प्रविधिको झ्यार गेम (विशेष खालको चश्मा लगाएर हेर्न मिल्ने) राख्ने तयारी गरेका छौं । सामाजिक सञ्जाल तिर युवाको चासो देखिएकोले टिकटक प्रतियोगिता गर्ने सोंचमा पनि छौ । पोखरा महोत्सव सांस्कृतिक महोत्सव पनि भएकोले जातीय सद्भाव कायम गर्न, सबै जातजातीको अपनत्व गराउन सबैखालका जातीय भेषभुषाको प्रदर्शनीको वातावरण मिलाएका छौं । पहिलो महोत्सव देखि दशौं महोत्सवसम्म गर्दै आएका मनोरञ्जनका कुराहरु, स्टलका कुराहरु, वाल उद्यान लगायतका कुराहरु नियमित रुपमा छँदैछन् ।
पोखरा र आसपासका क्षेत्रका यो समयमै धेरै मेला महोत्सव हुँदै आएका छन् , युनाइटेड क्लबलाई आफ्नो साख सुरक्षित गर्दै अगाडि बढ्दा महोत्सव आयोजनाकै लागि कति चुनौतीहरु छन् ?
पोखरा उपत्यका भित्र धेरै नै मेला महोत्सवहरु हुने गर्छ । यस्ता मेला महोत्सवहरु विभिन्न उद्योगी तथा संस्थाहरुले गर्ने गर्छन । व्यवासायिक प्रवद्र्धनका लागि देखि छाता संगठनको व्यापारिक प्रयोजनको लागि गर्दै आएको देखिन्छ । कुनै मेला महोत्सव कृषि उपजलाई लक्षित गरि त्यसको प्रवद्र्धन गर्ने उद्धेश्यले गर्दै आएका छने । हामीले पोखरा महोत्सवलाई पोखरेलीहरु सबैको अपनत्व हुने गरि सांस्कृतिक कुरालाई जोड दिएर महोत्सवलाई प्राथमिकता दिँदै आएका छौं । कला संस्कृतिको संरक्षण, भेषभुषाको प्रदर्शन देखि लिएर पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि हामीले महोत्सवमा महत्व दिन्छौं । पोखरा आसपासका पर्यटकीय गन्तव्य स्थलको जानकारी गराउने, हरेक क्रियाकलापमा पर्यटनसँग जोडिएर सञ्चालन गर्ने गर्दै आएका छौं । त्यति मात्र होइन हामीले महोत्सवमा व्यापारिक र व्यवसायिक क्रियाकलापसँग जोडिएका कुरा पनि गर्ने हुनाले सबै खालका फ्युजन गराउँछौं । यसरी फरकपन दिनको लागि गरिने अभ्यास र तयारीको लागि पक्कै पनि चुनौती छन् नै तथापि हामीले फरक पहिचान बोकेको महोत्सवलाई कायम राख्न प्रतिवद्ध रहेर सक्रियता जनाउँदै आएका छौं ।
महोत्सवले धेरै सामाजिक काम गर्दै आएको छ, त्यसमा पनि महोत्सवबाट आएको आम्दानी सामाजिक काममा खर्चिदै आएको पनि छ, यो पटक पनि छ केही विशेष योजना ?
हामीले पोखरा महोत्सव सामाजिक काम गर्नको लगि, सामाजिक उत्तरदायित्व पुरा गर्नको लागि नै आयोजना गर्दै आएका छौं । हामीले क्लब स्थापना गर्दा लक्ष्य नै सामाजिक सेवा राखेका छौं । त्यसमा पनि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायतको क्षेत्रमा काम गरिरहेका छौं ।
विशेष गरि हामीले पर्यटन प्रवद्र्धनको लागि भनेर पोखरा महानगरपालिकाको वडा नै ३०, ३१ र ३२ मा मानव निर्मित खुला चिडियाखानाको निर्माणको लागि दवाव सिर्जना गर्दै आएका छौं । अहिले उक्त चिडियाखानालाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखेर चिडियाखाना निर्माण समिति बनाएको छ । जिल्ला डिभिजन वन कार्यालयको अगुवाइमा चिडियाखाना निर्माण कार्य रफ्तारमा अगाडि बढेको छ । चिडियाखाना निर्माणको लागि महोत्सवकै आम्दानी त न्युन हुन्छ, प्रदेश सरकारले पञ्च वर्षीय योजनामा पारेर २८ करोड रुपैयाँ विनियोजन गरेको छ । चिडियाखाना निर्माणमा अब हाम्रो आर्थिक सहयोग भन्दा व्यवस्थापन समितिमा हाम्रो पनि प्रतिनिधित्व छ, आवश्यक सरसल्लाह दिँदै आएका छौं ।
हामीले पर्यटन प्रवद्र्धनको लागि भावी योजना के हुनसक्छ भनेर अन्तरक्रिया गर्दै आएका छौं । यसका सन्दर्भका हामीले अध्ययन अनुसन्धान पनि गर्दै आएका छौं । पोखरा उपत्यकाकोबीच भागबाट बग्ने सेती नदीमा विभिन्न खोंचहरु छन् । यी खोंचलाई साहासिक पर्यटकीय गन्तव्यस्थल किन नबनाउने भन्ने मान्यताका साथ पोखरा युनाइटेड क्लबले अग्रसरता लिएर पहल गर्ने हो भने त्यो संभावना पनि छ । अबको महोत्सवहरुमा यसलाई पनि हामीले अभियानको रुपमा लैजाने सोंचमा छौं । हामीले शिक्षा क्षेत्रका छात्रवृत्ति कोषको स्थापना, शैक्षिक सामाग्री वितरण लगायतका काम गर्दै आएका छौं, अब यस भन्दा अगाडि बढेर पोखरा महानगरपालिका वडा नं २६ मा क्लबको जमिनमा जेहेन्दार तथा गरिब विद्यार्थीलाई आवासीय रुपमा राख्ने गरि छात्रावास निर्माण गर्न सकिन्छ कि भनेर काम सुरु गर्न लागेका छौं ।
खेलकुद क्षेत्रमा सहयोग हुने गरि खेलकुद प्रतियोगितको आयोजना गर्ने, स्वास्थ्यमा ग्रामिण क्षेत्रमा आर्थिक अभावले उपचार गर्न नसकेका नागरिकलाई सहयोग गर्दैछौं । यस्ता धेरै सामाजिक काममा हाम्रो सक्रियता छ । यसलाई आधार मानेर पनि होला महोत्सवको आर्कषण बढ्नु पनि हाम्रो सामाजिक कार्य नै होला जस्तो लाग्छ ।
सामाजिक कार्यको लागि स्रोतको व्यवस्थापन कसरी गर्दै आउनुभएको छ ?
यसको लागि हाम्रो वाह्य स्रोत त छैन नै भन्दा पनि हुन्छ । कोभिड महामारीमा पनि हामीले राज्यका निकायलाई सहयोग गरेको अवस्था छ । दाता हामीले खोज्ने प्रयास गरेका छैनौं, पाएका पनि छैनौं । हाम्रो उद्धेश्य आफैले पौरख गर्ने र सामाजिक कार्यमा लगानी गर्ने भन्ने छ । महोत्सवबाट हाम्रो आम्दानी राम्रै हुन्छ । सांस्कृतिक संरक्षणको लागि भनेर तिहारको समयमा देउसी भैलोको कार्यक्रम आयोजना गरेका हुन्छौं । संस्थाको साधारण सदस्य, आजिवन सदस्य वर्षेनी थप्दै आएका छौं ।
सामाजिक सक्रियतामा के के बाधा र चुनौती महसुस गर्नुभएको छ ?
सामाजिक संस्थाले सामाजिक क्षेत्रमा काम गर्दा सबै क्षेत्रमा पुग्न नसकिएको पनि हुनसक्छ, हामी मात्र पर्याप्त त होइनौं । राज्य क्षेत्रले नै गर्नुपर्ने शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका समस्या समाधान गर्न सामाजिक संस्थाको अग्रसरताको विषयलाई लिएर आलोचना गर्नेहरु पनि छन् । हाम्रो अग्रसरता राज्यको सहयोगीको रुपमा हातेमालो गर्नको लागि हो । हामी जस्ता संघ सामाजिक संस्थाले गरेका प्रयासले मुलुकको समृद्धिमा सहयोग गर्नसक्छौ भन्ने लाग्छ । प्रस्तुती : प्रेम पुन्थोकी
Comments are closed.