पोखरा महोत्सव ब्राण्डका रुपमा स्थापित भएको छ (अन्तर्वार्ता)

राजु श्रेष्ठ, अध्यक्ष, युनाइटेड क्लब

शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धनको अभियानमा आफ्नो सक्रियता स्थापित गर्न सफल संस्था हो युनाइटेड क्लब पोखरा । क्लबले पोखरामा वर्षेनी आयोजना गर्ने ‘पोखरा महोत्सव’ले धेरै दर्शकलाई आकर्षित गर्न सफल हुँदै आइरहेको छ । क्लबले यस वर्ष १२औं संस्करणको महोत्सव पुस २६ बाट आयोजना गर्दैछ । यसै क्रममा महोत्सवको सन्दर्भ र क्लबको अभियानमा केन्द्रित रहेर अध्यक्ष राजु श्रेष्ठसँग आर्थिक आवाजले गरेको कुराकानीः

युनाइटेड क्लबले वर्षेनी पोखरा महोत्सव आयोजना गर्दै छ । यस वर्ष हुने महोत्सवको तयारी कस्तो छ ?
युनाइटेड क्लबले आयोजना गर्दै आएको पोखरा महोत्सव ब्राण्डका रुपमा स्थापित छ । महोत्सव सञ्चालनको १२औं संस्करणसम्म हामी आइपुगेका छौं । हामीले हरेक महोत्सवलाई विशेष बनाउदै आएका छौं र यो संस्करण पनि विशेष रहनेछ । महोत्सवको तयारीलाई हामीले तिब्र बनाएका छौं । सम्पूर्ण उपसमितिले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् ।

महोत्सवको आयोजना गर्नुको उद्देश्य र प्राथमिक क्षेत्र केके हुन् ?
पोखरा महोत्सवलाई सांस्कृतिक महोत्सवका रुपमा पनि हेर्ने गरेका छौं । नेपालको कला संस्कृति, भेषभुषा संरक्षण लगायतमा पनि विशेष ध्यान दिदै आएका छौं । पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई आधार बनाएर हामीले लगानी गर्दै आएका छौं । अझै विशेष तरिकाले लैजाने हाम्रो सोच छ । हाम्रो अभियानलाई वर्षेनी सफल बनाउँदैछौं । शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्र तथा पर्यटन प्रवर्द्धन हाम्रो उद्देश्य हो । ब्राण्ड प्रवर्द्धन र व्यावसायिक उत्थान एवं चलायमान बनाउने पनि लक्ष्य हो । हामीले जुन लक्ष्य र उद्देश्यका साथ महोत्सव आयोजना गर्दै आएका छौं त्यो लक्ष्य पुरा गरेका छौं ।

jutta mela

महोत्सवबाट हुने आम्दानीलाई कहाँ खर्चनुहुन्छ ?
महोत्सवबाट हुने आम्दानी हामीले विभिन्न सामाजिक काममा खर्च गर्दै आएका छौं । जुन क्षेत्रमा हामीले योगदान गर्दै आएका छौं सो क्षेत्रका व्यक्तिहरुलाई फाइदा पुगेको मैले पाएको छु । पोखरा उपत्यका क्षेत्रमा खुला चिडियाखाना बनाउनुपर्छ भनेर हामीले आवाज उठायौं । १० औं पोखरा महोत्सवसम्म हामीले ५८ लाख ८५ हजार रुपैयाँ जम्मा गरेर क्लवकोतर्फबाट चिडियाखानामा लगानी गर्यौं । अहिले पोखरा महानगरको ३०, ३१ र ३२ नंवर वडामा रहेको सामुदायिक वनको जंगलमा पचभैयामा खुला चिडियाखाना निर्माणको काम अगाडि बढायौं । अहिले विभिन्न पशुपंक्षी अवलोकनका लागि राखिएको छ । यो योजनालाई अहिले गण्डकी प्रदेश सरकारले आफ्नो स्वामित्व ग्रहण गरेर जिल्ला डिभिजन वन कार्यालयबाट अगाडि बढिरहेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजना भएको हुनाले हामीले ११ औं महोत्सवबाट चिडियाखानाको लागि भनेर बजेट विनियोजन गरेका छैनौं र अहिले पनि गर्दैनौं ।
पोखराको सेती नदी खोचलाई सहासिक पर्यटकीय गन्तव्य स्थल बनाउन हामी कोशिश गरिरहेका छौं । अघिल्लो वर्षको महोत्सवबाट हामीले केही रकम छुट्याएका पनि छौं । १२औं पोखरा महोत्सवमा जति फाइदा हुन्छ त्यसको १५ प्रतिशत रकम सेती खोचका लागि छुट्याउने छौं ।

महोत्सव सफल बनाउन स्थानीयको पनि साथ छ ?
स्थानीयको साथ बिना महोत्सव सफल नै हुँदैन । यहाँका पोखराबासीले महोत्सवलाई अपनत्व लिनुभएको छ । पहिलो पोखरा महोत्सव आयोजना गर्दादेखि नै हामीले महोत्सवले क्षेत्रगत विकासका लागि पनि राम्रो भुमिका खेल्छ भनेर हामीले उद्देश्य राखेका थियौं । त्यही अनुसार पोखरा उपमहानगरपालिका हुँदाखेरी लेखनाथ क्षेत्रदेखि सेतीवारी रहेका वडाहरुबाट हामीलाई राम्रो साथ तथा सहयोग मिल्दै आएको थियो । अहिले त पोखरा महानगर भइसकेको छ । विकासका गतिविधी संचालन गर्ने, व्यवसाय प्रवद्र्धन गर्ने, लगायतका लागि महोत्सवबाट टेवा मिलेको छ । स्थानीयको साथ र सहयोग पनि राम्रो छ ।

क्लबले महोत्सव आयोजना गरेकाले आलोचना पनि भोग्नु परेको हो ?
राम्रो उद्देश्यका साथ आयोजना गरिने हरेक गतिविधिलाई सरकार, प्रशासन, विभिन्न संघ संस्था तथा निकायले सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ । पवित्र उद्देश्य राखेर संचालन गरिएको महोत्सवको आलोचना गर्नु आवश्यक छ जस्तो मलाई लाग्दैन । अन्य स्थानमा पनि क्लब तथा सामाजिक संघसंस्थाले महोत्सव आयोजना गर्दै आएका छन् ।

पोखरा महोत्सव दर्शकको उपस्थिति राम्रो देखिन्छ । कारण के हो जस्तो लाग्छ ?
पोखरा महोत्सवमा दर्शकको सहभागिता पनि राम्रो रहन्छ । महोत्सवपछि गरिने विभिन्न गतिविधि मन पराएर पनि महोत्सवमा दर्शक आउने गर्नुभएको छ । मनोरञ्जनका लागि मात्र नभई सामानहरु किनमेलदेखि लिएर महोत्सवबाट हुने फाइदा सामाजिक काममा खर्च गरिने भएकाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीलाई नै लाभ पुग्छ भन्ने सकारात्मक सोचाइका साथ दर्शक आउनुहुन्छ । हरेक महोत्सवमा दर्शकको चाप बढ्दै गएको पनि छ । दर्शकलाई आकर्षण गर्नका लागि हरेक दिन गतिविधि पनि फरक फरक रहन्छन् । साँस्कृतिक कार्यक्रममा पनि ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहन्छ । युवालाई लक्षित गरि कन्सर्ट पनि राख्छौं । कला संस्कृति जगेर्ना गर्ने खालका विभिन्न सांस्कृतिक गतिविधि संचालन हुन्छन् । नेपालमा रहेका विभिन्न जातजातिको संस्कृति झल्कने खालको ड्रेस लगाएर फोटो सेसन गर्ने व्यवस्था पनि हामी मिलाउँछौं ।

महोत्सवका साथमा क्लबले गर्ने अन्य गतिविधिहरु केके छन् ?
महोत्सवका अलावा युनाइटेड क्लबले विभिन्न सामाजिक काम नै गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा काम गरिरहेका छौं । महोत्सवबाट भएको आम्दानीलाई नै हामी सामाजिक गतिविधिमा खर्च गर्छौं । पोखरा २६ अर्चलेमा क्लबको करिव ५ रोपनी जग्गा छ । त्यहाँ गरिव तथा जेहेन्दार विद्यार्थीका लागि आवासीय छात्रावास निर्माणका लागि महोत्सवबाट १५ प्रतिशत रकम विनियोजन गर्नेछौं । वर्षभरी कुनै न कुनै सामाजिक काम गरिरहेका हुन्छौं । मंसिरदेखि हामी महोत्सवको तयारीमा जुट्छौं र महोत्सव सकिएपछि फेरी सामाजिक काममा जुट्छौं ।

क्लबको अध्यक्षमा दोस्रो कार्यकाल काम गरिरहनुभएको छ । कार्यकालको समिक्षा कसरी गर्नुहुन्छ ?
पहिलो कार्यकालमा सामाजिक काम बढी ग¥यौं । तर कोरोना महामारीका कारण महोत्सव गर्न सकेनौं । स्वास्थ्य प्रोटोकलका कारणले सो समयमा महोत्सव गर्ने वातावरण रहेन । महोत्सव गर्ने भनेर सबै तयारी गरेका थियौं तर अन्तिम समयमा स्थगित गर्यौं । दोस्रो कार्यकाल सुरु भएपछि ११औं महोत्सव भब्य तथा शभ्य रुपमा सम्पन्न गर्यौं । अहिले १२ औं संस्करणमा छौं । यो महोत्सव पनि भब्य तथा शभ्य रुपमा सम्पन्न हुनेछ । सबैको साथ र सहयोगबाट कार्यकाल सफल भइरहेको मैले महसुस गरेको छु ।

You might also like

Comments are closed.