अनौपचारिक दुग्ध बजारले उद्योग धराशायी बन्छन्

रामचन्द्र बराल, सञ्चालक, लबकुश डेरी उद्योग

हामी दुग्ध क्षेत्रको समग्र विकासका लागि सक्रिय रूपमा काम गरिरहेका छौँ । लबकुश डेरी उद्योगले लामो समयदेखि पोखरा र आसपासका जिल्लाहरूमा स्वच्छ र गुणस्तरीय दूध तथा दुग्ध पदार्थहरूको बिक्री वितरण गर्दै आइरहेको छ । पोखरा क्षेत्रका पुराना डेरीहरूमध्ये लबकुशलाई आधुनिक प्रविधि भएको उद्योगका रूपमा सबैले चिन्ने गर्छन् ।

नेपाल एक कृषिप्रधान देश हो । धानपछि दोस्रो महत्वपूर्ण स्थान ओगटेको दुग्ध क्षेत्रको विकास र प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । तर, आज यो क्षेत्र निकै चुनौतीपूर्ण अवस्थामा छ । औपचारिक बजारभन्दा अनौपचारिक क्षेत्रको बजारले समग्र दुग्ध क्षेत्रलाई अस्तव्यस्त बनाएको देखिन्छ ।

हाम्रो मुख्य दायित्व भनेको यो अनौपचारिक बिक्री वितरणलाई नियन्त्रण गरी व्यवस्थित औपचारिक माध्यमबाट बिक्री गर्ने वातावरण सिर्जना गर्नु हो । यो कुरा राज्यका निकायले प्रभावकारी पहल नगरी सम्भव छैन । विडम्बना नै भन्नुपर्छ यस्तो महत्वपूर्ण विषयमा समेत राज्य देखेको नदेखै झैँ गरी टुलुटुलु हेरेर बसेको छ । यसबाट न उद्योगी, न राज्य, न त उपभोक्ता – कसैलाई पनि लाभ हुँदैन ।

यसर्थ, हामी उद्योगीहरू र हाम्रो छाता संगठन नेपाल डेरी एसोसिएसनको स्पष्ट भनाइ छ, जबसम्म राज्यले यस्तो महत्वपूर्ण कुरामा सहयोग गर्दैन, तबसम्म हामीले चाहेको विकास सम्भव छैन । राज्यको सहयोग र साझेदारी पाउनेबित्तिकै हामी सधैँ राज्यसँग कदममा कदम मिलाई अगाडि बढ्न तयार छौँ ।

You might also like

Comments are closed.