काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले २१ दिनका लागि यो रकम उठाउने तयारी गरेको हो।
बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै गरिएको यस आह्वानमा घटिमा १० करोड रुपैयाँ र बढीमा ५ करोडको गुणात्मक भागमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। कुल आह्वान रकम २५ अर्ब रुपैयाँसम्म सीमित रहनेछ।
राष्ट्र बैंकका अनुसार, यो निक्षेप संकलनको सावाँ तथा ब्याज भुक्तानी मिति २०८२ साउन ४ गते तोकिएको छ। यसमा लाग्ने ब्याजदर बोलकबोल (competitive bidding) को माध्यमबाट निर्धारण गरिनेछ।
राष्ट्र बैंकले प्राप्त बोलपत्रहरूबाट सबैभन्दा कम ब्याजदर भएका प्रस्तावहरूलाई प्राथमिकता दिनेछ। यदि समान ब्याजदरमा मागभन्दा बढी प्रस्ताव आएमा प्रोराटा (pro-rata) आधारमा बाँडफाँड गरिनेछ।
यस निक्षेप संकलन कार्यक्रममा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। साथै, बहुब्याजदर प्रणालीमा पनि बहुबोलकबोल (multiple bidding) गर्न सकिने व्यवस्था गरिएको छ।
विगत केही समयदेखि बैंकिङ प्रणालीमा तरलता (liquidity) को मात्रा अत्यधिक रहेको भन्दै राष्ट्र बैंकले समयसमयमा यस्तो उपाय अपनाउँदै आएको छ। यस प्रकारको निक्षेप संकलनले बजारमा सन्तुलन कायम गर्न, ब्याजदरमा स्थिरता ल्याउन र मौद्रिक नीतिको प्रभावकारिता बढाउन सहयोग पुर्याउने विश्लेषकहरूको भनाइ छ।
Comments are closed.