अधिक तरलता जटिल भएपछि केन्द्रीय बैंकको निक्षेप संकलन, २५ अर्ब खिचियो

काठमाडौं । वित्तीय प्रणालीमा तरलता (liquidity) अत्यधिक बढेसँगै नेपाल राष्ट्र बैंकले दीर्घकालीन निक्षेप संकलन (Long-term Deposit Collection) उपकरण प्रयोग गर्दै ४२ दिनका लागि २५ अर्ब रुपैयाँ प्रणालीबाट खिचेको छ। यो चालु आर्थिक वर्षको सबैभन्दा लामो अवधिको निक्षेप संकलन हो।

अहिलेसम्म राष्ट्र बैंकले २, ७, १३, १४, २१, २२ र २३ दिनका निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको थियो। तर यसपटक लगभग डेढ महिनाका लागि तरलता व्यवस्थापन गर्न यस्तो कदम चालेको हो। यसअघि गत बुधबार मात्र राष्ट्र बैंकले ३१ अर्ब ८५ करोड रुपैयाँ प्रणालीबाट निकालेको थियो।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अन्तर्गत अपनाएको खुला बजार कारोबार सम्बन्धी कार्यविधि २०७८ अनुसार, दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बढीमा ६ महिनासम्मको अवधि हुने दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। आइतबारको ४२ दिने निक्षेप संकलन सोही प्रावधान अन्तर्गत गरिएको हो।

निक्षेप संकलन बहुब्याजदर प्रणालीमा गरिनेछ, जसअन्तर्गत न्यूनतम बोल मूल्य १० करोड रुपैयाँ राखिएको छ। सहभागी काउन्टर पार्टीहरूले आफूले राख्न चाहेको निक्षेपको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरेर बोलपत्र दिनुपर्नेछ। न्यूनतम ब्याजदरको आधारमा प्राथमिकता दिइनेछ।

राष्ट्र बैंकले यो माध्यमबाट बजारमा बढ्दो तरलता नियन्त्रण गर्दै ब्याजदरको स्थायित्व कायम गर्न चाहेको छ। पछिल्लो समय व्यावसायिक बैंकहरूमा अत्यधिक तरलता देखिएपछि अल्पकालीन उपकरणले मात्रै समस्या समाधान गर्न कठिन हुँदै गएको छ। दीर्घकालीन निक्षेप संकलनले बैंक तथा वित्तीय संस्थाहरूमार्फत लगानीको व्यवस्थापनमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.