बैंकिङ प्रणालीबाट एकैदिन ९० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले ३५ दिनका लागि यो रकम संकलन गर्न लागेको हो।

यस प्रयोजनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई बोलकबोलमा सहभागी हुन प्रस्ताव माग गरेको छ। बोलकबोल बुधवार दिउँसो ३ बजे सम्पन्न हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोडको गुणनफलमा निस्सेष रकमसम्म बोलकबोल गर्न पाउनेछन्।

यस निक्षेप संकलन उपकरण अन्तर्गत सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ७ गते गरिनेछ। यसमा ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुनेछ। सहभागी संस्थाहरूले प्रस्तावमा माग गरिने रकम र दशमलव पछिका चार अंकसम्म उल्लेख गरेर ब्याजदर प्रस्तुत गर्नुपर्नेछ।

राष्ट्र बैंकका अनुसार यो बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बहु ब्याजदरमा समेत बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

यो कदम राष्ट्र बैंकको तरलता व्यवस्थापन रणनीतिको एक हिस्सा हो, जसले वित्तीय प्रणालीको सन्तुलन कायम राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.