काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट थप ६० अर्ब रुपैयाँ तान्ने भएको छ। पछिल्लो समय प्रणालीमा अत्यधिक तरलता भएको भन्दै राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण (डेपोजिट कलेक्शन टुल) प्रयोग गरेर पैसा खिच्दै आएको छ।
राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया हुने छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणकमा बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरमा हुनेछ र बहुब्याजदरमा पनि प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै यस प्रक्रियामा सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकका अनुसार यो ६३ दिने निक्षेप संकलन उपकरण भदौ १८ गते साँवा तथा ब्याज भुक्तानी गर्नेगरी जारी गरिएको हो। हाल बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत रूपमा नबढेको र तरलता प्रशस्त भएको कारण बैंकहरू न्यून ब्याजदरमा पनि राष्ट्र बैंकमा पैसा राख्न बाध्य भएका छन्। हाल ३ प्रतिशत हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिनुपर्ने अवस्था देखिएको छ।
राष्ट्र बैंकले यस्तो कदमलाई प्रणालीमा सन्तुलित तरलता कायम गर्दै वित्तीय स्थिरता प्रवर्द्धन गर्ने उद्देश्यसहित लिएको बताइएको छ।
Comments are closed.