काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (बिहीबार) ९० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत बोलकबोल प्रणाली प्रयोग गरी सो रकम संकलन गर्न लागेको हो ।
हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । वित्तीय प्रणालीमा बढी तरलता र ब्याजदरको व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।
यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । संकलित रकमको बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले पेश गरेका ब्याजदरमध्ये सबैभन्दा कम दरलाई प्राथमिकतामा राखी माग गरिएको रकमसम्म बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका अनुसार बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुनेछ र ब्याजदर पनि सोही प्रक्रियाबाट निर्धारण गरिनेछ । आजको संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी २०८२ असोज १२ गते हुने छ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म निर्धारण हुनेछ ।
केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधि अनुसार, दीर्घकालीन तरलता स्थितिको व्यवस्थापनका लागि बढीमा ६ महिना अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिन्छ। सोही व्यवस्था अनुसार राष्ट्र बैंकले आवश्यकता अनुसार पटकपटक निक्षेप संकलन गर्दै आएको छ ।




Comments are closed.