काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९बुधवार० ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिरहेको छ । वित्तीय प्रणालीमा निरन्तर उच्च तरलता देखिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत निक्षेप तान्न लागेको हो ।
हाल वित्तीय प्रणालीमा कुल निक्षेप ७४ खर्बभन्दा बढी पुगेको छ । तरलता र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणका साथै स्थायी निक्षेप सुविधा पनि प्रयोग गर्दै आएको छ ।
बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप वितरण गर्दा सहभागी संस्थाले सबैभन्दा कम ब्याजदर बोली गरेको रकमलाई प्राथमिकता दिँदै तोकिएको सीमा भित्र क्रमशः बाँडफाँट गरिनेछ ।
आजको निक्षेप संकलन अनलाइन बोलकबोल प्रणाली मार्फत हुनेछ र यसका लागि ब्याजदर पनि बोलकबोलमै निर्धारण गरिनेछ ।
निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी मिति २०८३ माघ १८ तोकिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ हुनेछ भने अधिकतम सीमा ५ करोडले भाग जाँदा निःशेष हुने गरी कुल आह्वान रकमसम्म सीमित रहनेछ ।
केन्द्रीय बैंकको खुला बजार कारोबार कार्यविधि अनुसार, बजारमा दीर्घकालीन तरलता बढेमा ब्याजदर स्थिर राख्न अधिकतम ६ महिनाको अवधिसम्म दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिन्छ । यही प्रावधानअनुसार राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा पटक–पटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ ।




Comments are closed.