५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, ८४ दिनका लागि बोलकबोल

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न आज ८४ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । तरलता धेरै मात्रामा रहेपछि केन्द्रीय बैंकले आइतबार पुनः निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो ।

हाल बैंक तथा वित्तीय प्रणालीमा कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अधिक तरलता र ब्याजदर सन्तुलनमा राख्न राष्ट्र बैंकले निरन्तर रूपमा निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) तथा स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) को प्रयोग गर्दै आएको छ ।

आजको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले प्रस्ताव गर्ने ब्याजदरमध्ये सबैभन्दा कम दर बोल गर्ने बोलककर्तालाई प्राथमिकता दिँदै ५० अर्बको रकम क्रमशः वितरण गरिनेछ ।

निक्षेप संकलनका लागि आज अनलाइन खरिद प्रणाली प्रयोग हुनेछ। ब्याजदर पूर्ण रूपमा बोलकबोलकै आधारमा निर्धारण हुनेछ । राष्ट्र बैंकका अनुसार, यसपटक संकलित निक्षेपको सावाँ तथा ब्याज आगामी २०८३ फागुन ५ गते भुक्तानी हुनेछ ।

बोलकबोलमा सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ देखि अधिकतम ५ अर्ब रुपैयाँ (५ करोडले भाग जाँदा निःशेष हुने गरी) रकमका लागि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय बैंकको खुला बजार कारोबार कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अत्यधिक तरलता देखिएमा अधिकतम ६ महिनासम्म प्रयोग गर्न मिल्ने दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ । यही प्रावधानअनुसार राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा पटक, पटक यस्ता उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ ।

आजको बोलकबोलले वित्तीय प्रणालीमा देखिएको दीर्घकालीन तरलता चाप कम गर्ने तथा बजार ब्याजदरलाई सन्तुलनमा राख्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.