काठमाडौं । बुधबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कर्मचारीहरूका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा तथा अन्य विविध बैंकिङ सेवासुविधा उपलब्ध गराउनेछ। यस सहकार्यले संस्थाका कर्मचारीहरूलाई सहज, सुलभ तथा आधुनिक बैंकिङ सेवा प्राप्त हुने विश्वास लिइएको छ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका निर्देशकद्वय विनोद प्रसाद न्यौपाने र सिए श्री किरण कुमार खत्री, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप–कार्यकारी अधिकृतहरू श्री विनयरमण पौडेल, श्रीमती दुर्गा कुमारी कंडेल र श्री रामकुमार थापा, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौडेल लगायत बैंक तथा संस्थाका अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हाल राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रहरूमा समेत ३१२ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम तथा ९९ वटा शाखारहित बैंकिङ सेवामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.