पोखरा । नेपाली मौलिक संस्कृति, पहिचान र परम्परालाई जीवन्त राख्नका लागि पोखरामा सञ्चालनमा ल्याइएको ‘राष्ट्रिय पोशाक घर’ ले आफ्नो एक वर्ष सफलतापूर्वक पूरा गरेको छ । ‘नेपाली पहिरन, हाम्रो गौरव’ भन्ने नाराका साथ स्थापित यो पोशाक घरले स्थानीय उत्पादनमा आधारित परम्परागत तथा आधुनिक डिजाइनका पोशाकहरू उपलब्ध गराउँदै आएको छ ।
राष्ट्रिय पोशाक जस्तै ढाका टोपी, दौरासुरुवाल, कोट, सट, कुर्ता सुरुवाल जस्ता कपडाहरूमा स्थानीय तानबाट निर्मित अल्लो, ओक्ता, ढाका, कोगटी र गाँजा जस्ता वस्त्रको प्रयोग गरी नेपाली संस्कृति झल्किने पोशाक उत्पादन तथा बिक्री गरिँदै आएको छ ।
यो पोशाक घरको मूल शाखा काठमाडौंको बानेश्वरमा स्थापना गरिएको थियो, जुन ‘राष्ट्रिय पोशाक दिवस’ मनाउने अभियानसँग जोडिएको थियो । त्यसैको निरन्तरतास्वरूप इजी ग्रुपले पोखरामा यसको शाखा विस्तार गरेको हो। ग्रुपका संस्थापक रामप्रसाद कडेंलका अनुसार यस पोशाक घरले नेपाली उत्पादनलाई प्राथमिकता दिँदै गुणस्तरीय सेवा प्रदान गर्न काठमाडौंबाट दक्ष जनशक्ति पोखरा ल्याएर सेवा सुरु गरिएको हो ।
इजी ग्रुप स्वयं एक बहुआयामिक व्यवसायिक समूह हो जसले विभिन्न क्षेत्रहरूमा लगानी गर्दै आएको छ । कडेंलका अनुसार, होटल, सुरक्षा सेवा, हर्बल उत्पादन, सरसफाइ सामग्री, बाल सरसामानजस्ता विभिन्न क्षेत्रहरूमा ५० करोड रुपैयाँभन्दा बढी लगानी इजी ग्रुपले पोखरामा गरिसकेको छ ।
ग्रुपअन्तर्गत लेकसाइडमा ‘चौतारी बुटिक होटल’, गोर्खा ल्याण्ड सेक्युरिटीमार्फत सुरक्षा गार्ड सेवा, इजी हस्पिटालिटी सपमार्फत हर्बल उत्पादन बिक्री, चौतारी इन्टरनेसनलमार्फत डायपर र प्याडजस्ता सामग्री विक्री, र इजी ट्रेडिङमार्फत सरसफाइका सामग्री विक्री हुँदै आएका छन् ।
पोशाक घरको सफलतामा इजी ग्रुपका संस्थापक रामप्रसाद कडेंल र व्यवसायिक साझेदार बजगाईंको विशेष योगदान रहेको छ । कडेंलले भने, “हामी नाफा मात्रै होइन, सेवा र गुणस्तरलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौं । नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै राष्ट्रिय पहिरनलाई देशभर प्रवर्द्धन गर्न हामी प्रतिबद्ध छौं ।”
पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका कडेंलले व्यवसायमा नाफाभन्दा गुणस्तरलाई प्राथमिकता दिएको बताए ।
पोशाक घरले आगामी दिनहरूमा ग्राहकको आवश्यकता र रुचिअनुसारका नयाँ डिजाइनहरू र प्रविधिसँग मेल खाने सेवा थप गर्दै लैजाने योजना बनाएको जनाएको छ । स्थानीय स्रोत र सीपको प्रयोगमा जोड दिँदै घरेलु उद्योगको प्रवर्द्धनमा ‘राष्ट्रिय पोशाक घर’ले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
Comments are closed.