काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्षमा रत्नबहादुर भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । पुस २८ गते हुने २०औं साधारणसभाका लागि उनले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
निर्वाचनमा भट्टराईले अध्यक्षका प्रत्यासी दीपकराज भुसालको प्यानलबाट आफ्नो उम्मेदवारी दिने छन् । शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव सँगालेका भट्टराई हाल इक्यानको कार्यसमितिमा सचिव भएर काम गरिरहेका छन् । संस्थाभित्र सुशासन र व्यावसायिकताका लागि उनले यसअघि विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।
यस अगाडि दुई कार्यकाल कार्यसमिति सदस्य भएका उनले दुई कार्यकाल नै अनुशासन विभागको संयोजक भएर काम गरिसकेका छन् । उनैको पहलमा आन्तरिक मामिला विभागको गठन गरिएको थियो । जुन विभागको संयोजकको अनुभवसमेत भट्टराईसँग छ । सरकारसँग आवश्यक समन्वय र पैरवीका लागि आन्तरिक मामिला विभाग गठन गरी गरिएको हो । दुई पटक कार्यसमिति सदस्य र एक कार्यकाल सचिव भएर काम गरिसकेपछि उपाध्यक्षको स्वभाविक दावेदार आफू रहेको र देशभरका इक्यान सदस्यहरुको विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

नोबल एजुकेशन प्रालिका सञ्चालक भट्टराईले इक्यानलाई थप सशक्त, सदस्यमैत्री र व्यावसायिक संस्था बनाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । ‘इक्यानको गरिमा र उचाईलाई नयाँ ढंगले अघि बढाउन तथा सदस्यहरूको हकहितका लागि सरकारसँग बलियो समन्वय गर्न मेरो उम्मेदवारी हो,’ उनले भने । संस्थागत सुधार र सदस्यहरूको व्यावसायिक सुरक्षालाई मुख्य प्राथमिकता दिने उनको प्रतिबद्धता छ ।




Comments are closed.