नेपाल निर्माण व्यवसायी महासंघमा सिंह विजयी (मत र प्रतिबद्धतासहित)

सुरेन्द्र पौडेल । निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह विजयी भएका छन् । उनी लोकप्रिय मतका साथ अध्यक्षमा पुनः अध्यक्ष निर्वाचित भएका हुन् । सिंहले ८०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी निकोलस पाण्डेले ३४२ र हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरे ।

महासंघको वरिष्ठ उपाध्यक्षमा एडी लामा ५६३ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी धिरेन्द्र कुमार दाहालले २८९ र लक्ष्मण रानाले २७३ मत प्राप्त गरे ।

प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।

महासचिवमा रोशन दाहाल ७१९ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी वासु उप्रेतीले २१२, शंकर चौलागाईंले १२४, रामशरण देउजाले ८८ र आनन्दप्रसाद अधिकारीले २४ मत प्राप्त गरेका छन् । उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भए । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ विजयी भए भने सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन् ।

अध्यक्षमा पुनः निर्वाचित भएपछि आर्थिक आवाजलाई प्रतिक्रिया दिदै सिंहले आफूलाई ठूलो जिम्मेवारी थप भएको बताएका छन् । सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै उनले निर्माण व्यवसायीहरुको विश्वास अनुसार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सार्वजनिक खरिद नियमालीमा आएको कुरालाई संशोधन गरेर सार्वजनिक खरिद ऐनलाई पूर्वाधार मैत्री र विकास मैत्री बनाउने, अत्याधिक रुपमा बढेको मूल्य वृद्धि निर्देशिका जारी गराउने, कामको समानुपातिक अवसर सिर्जना गर्न पाँच वटा प्याकेजलाई संस्थागत गर्ने, निर्माण कम्पनीहरुको बृद्धि विकास गर्नका लागि ६० प्रतिशतको सर्टिफिकेटलाई संस्थागत गराउने, सदाको लागि कार्टेलिङको अन्त्य गराउने लगायतका प्रतिबद्धता सिंहले गरेका छन् ।

मुलुकको सम्पूर्ण विकास निर्माणको काममा एक दर्जन भन्दा कम कम्पनीले ८० प्रतिशत भन्दा बढी ओगट्ने विकृतिको अन्त्य गरी ठूला कम्पनीहरुले विचौलिया प्रथाको अन्त्य गर्ने उनले बताएका छन् । निर्माण उद्योग र देश विकासमा अनियमितता रहित निर्माण उद्योगको विकास गनले उनले बताए ।

You might also like

Comments are closed.