राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्‍यो २ अर्ब ५० करोड बराबरको ऋणपत्र

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सात वर्षे अवधिको वार्षिक सात प्रतिशत ब्याजदर रहेको ऋणपत्र “RBBL डिबेन्चर 2089” आज २०८२ बैशाख ७ गतेदेखि निष्कासनमा ल्याएको छ। बैंकले यो ऋणपत्र अन्तर्गत प्रति कित्ता एक हजार रुपैयाँ अंकित दरमा कुल २५ लाख कित्ता, अर्थात २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो।

जसमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता संस्थागत लगानीकर्तालाई व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ। सार्वजनिक निष्कासनमा पनि ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ९ लाख ५० हजार कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाउनेछन्।

ऋणपत्रमा प्राप्त ब्याज रकम कर कट्टा गरी हरेक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिकको समाप्तिमा भुक्तानी गरिनेछ। यस ऋणपत्रको निष्कासन छिटोमा बैशाख १० गते र ढिलोमा बैशाख २१ गतेसम्म खुला रहनेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखाबाट गर्न सकिनेछ।

यस ऋणपत्रको लागि केयर रेटिङ्ग्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई “CARE-NP A+” क्रेडिट रेटिङ्ग प्रदान गरेको छ, जसले बैंकले समयमै वित्तीय दायित्व पूरा गर्न पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

बैंकको हाल ७७ वटै जिल्लाका सदरमुकामहरूसहित ७ प्रदेशमा २९४ शाखा कार्यालय, ७२ एक्सटेन्सन काउन्टर, ३१२ एटिएम र ९९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन्। यस ऋणपत्र निष्कासनबाट बैंकको दीर्घकालीन पुँजी स्रोत थप सुदृढ हुनुका साथै लगानीकर्ताका लागि स्थिर आयको भरपर्दो माध्यम बन्ने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.