काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवामा थप सहजता र आधुनिकता प्रदान गर्ने उद्देश्यका साथ “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने नयाँ सुविधा औपचारिक रूपमा सुरु गरेको छ।
अबदेखि नेपाल बाहिरबाट पठाइने रेमिट्यान्स रकम प्राप्त गर्न ग्राहकले रेमिट्यान्स पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स कम्पनीको नाम तथा मनी ट्रान्सफर कन्ट्रोल नम्बर (MTCN) मोबाइल एपमा प्रविष्ट गरेपछि रकम सिधै खातामा जम्मा हुनेछ।
यस सेवामार्फत १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूबाट पठाइएको रकम सहज रूपमा प्राप्त गर्न सकिनेछ। यसले ग्राहकहरूलाई रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टसम्म जानुपर्ने झन्झटबाट मुक्ति दिलाउने छ, साथै समय र श्रमको समेत बचत हुनेछ।
बैंकले डिजिटल बैंकिङ्ग क्षेत्रलाई प्राथमिकतामा राख्दै सुरक्षित, ग्राहकमैत्री र प्रविधिमुखी सेवा प्रदान गर्ने रणनीतिअन्तर्गत यो सेवा थप गरेको हो। डिजिटल नवप्रवर्तनको क्षेत्रमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक, मोबाइल एपमा रेमिट्यान्स सेवा एकीकृत गर्ने पहिलो विकास बैंक समेत बनेको छ।
बैंकले आगामी दिनहरूमा ग्राहकको आवश्यकता र प्रविधिको विकाससँगै आफ्नो मोबाइल एप्लिकेसनलाई अझ परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। ग्राहकहरूको सेवा अनुभवलाई अझ सहज, भरपर्दो र दिगो बनाउने प्रयासस्वरूप बैंकले डिजिटल बैंकिङ्ग सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।
Comments are closed.