नेपालमा रक्तसञ्चार सेवाको ५८ वर्ष पूरा

काठमाडौं । नेपालमा रक्तसञ्चार सेवा प्रारम्भ भएको ५८ वर्ष पूरा भएको छ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।

प्रारम्भमा वीर अस्पतालको हातामा लक्ष्मी ब्लड बैंकको रूपमा पहिलो रगत बैंक सञ्चालनमा ल्याइएको थियो । नेपालमै पहिलो रगत बैंकको रुपमा स्थापित यस केन्द्रले एक वर्षको अवधिमा जम्मा १५७ युनिट मात्र रगत सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०८०÷ ८१ मा रेडक्रसले दुई लाख ९४ हजार चार सय ७७ युनिट रगत सङ्कलन र चार लाख छ हजार दुई सय ७१ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराएको थियो ।

सुरुआती दिनमा रगतको किनबेच गर्ने पेसेवर व्यक्तिबाट समेत रगत सङ्कलन गर्ने गरिएकामा २०३९÷४० देखि त्यस्ता व्यक्तिबाट रगत नलिई स्वयंसेवी रगतदाताको संख्यामा वृद्धि गरी रगत सङ्कलन गर्न थालिएको थियो । विसं २०४८ चैत २४ मा तत्कालीन सरकारले रेडक्रसलाई नै नेपालभर रक्तसञ्चार सेवा सञ्चालनको एकल अधिकार दिएको थियो । २०५० सालमा सरकारबाट रक्तसञ्चार सेवाको राष्ट्रिय नीति स्वीकृत भई लागू भएको थियो ।

नेपाल रेडक्रसले काठमाडौँमा केन्द्रीय रक्तसञ्चार सेवाका साथै विराटनगर, भरतपुर, पोखरा, नेपालगञ्ज र धनगढी गरी पाँच स्थानमा प्रदेशस्तरीय रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । २४ जिल्लामा जिल्लास्तरीय र विभिन्न जिल्लाका ४१ स्थानबाट आकस्मिक रक्तसञ्चार सेवा प्रदान हुँदै आएको छ ।

रक्तसञ्चार सेवाको ५९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नेपाल रेडक्रसले मानवीय सेवामा पु¥याएको सहयोग महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाल रेक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले आर्थिक वर्ष २०८०÷ ८१ मा रेडक्रसले दुई लाख ९४ हजार चार सय ७७ युनिट रगत सङ्कलन र चार लाख छ हजार दुई सय ७१ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराएको जानकारी दिए। उनले भने, ‘नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प पश्चात् पनि रक्तदानको कार्यक्रम निरन्तर जारी राखेको र कोभिड महामारीका समयमा पनि केन्द्रले आफ्नो सेवा जारी राख्न सफल भएको थियो ।’ कार्यकारी निर्देशक ढकाललले अगामी दिनमा रक्त सेवालाई थप चुस्त बनाइने जानकारी दिए।

नेपाल रेडक्रसका अध्यक्ष प्राडा सुदर्शनप्रसाद नेपालले ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसञ्चार सेवा’को मूल भावनालाई कार्यान्वयनमा लैजान र नेपाल सरकारले संस्थालाई दिएको जिम्मेवारी पूरा गर्न नेपाल रेडक्रस प्रतिबद्ध रहेको बताए । रासस

You might also like

Comments are closed.