‘मानवतालाई जीवित राखौं’ नाराका साथ मनाइयो रेडक्रसको ६२औं स्थापना दिवस

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवस मनाएको छ । ‘मानवतालाई जीवित राखौं’ नाराका साथ विविध कार्यक्रम आयोजना गरी बुधबार देशव्यापी स्थापना दिवस मनाइएको छ । यसै उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रेडक्रसको झण्डोत्तोलन सहित विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवक र कर्मचारीहरूको योगदानको सराहना गर्दै धन्यवाद व्यक्त गरे । उनले दिवसको यस वर्षको नारा ‘मानवतालाई जीवित राखांै’ भन्ने यस वर्षको नारालाई सम्पूर्ण रेडक्रसकर्मीहरूले व्यवहारमा उतार्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष राधा नेपालीले रेडक्रसका स्वयंसेवक र कर्मचारीहरूको प्रभावकारी समन्वय र

आपसी सहकार्यबाट रेडक्रसका गतिविधिहरू सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताइन् ।

सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीमा करिव ११ लाखभन्दा बढी स्वयंसेवकहरू मानवीय सेवाका कार्यहरूमा तल्लीन रहेको बताउँदै हाल सोसाइटीअन्तर्गत सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६१५ उपशाखा, १ सय २० सहयोग समिति र ६,९३४ जुनियर तथा युवा सर्कलहरू सहितको सांगठनिक संरचना रहेको जानकारी गराए ।

महामन्त्री श्रेष्ठले सोसाइटीले गरेका संगठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा संकट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवद्र्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधिहरू सञ्चालन गरिरहेको बताए ।

हालैको मनसुनका कारण ५५ जिल्लामा आएको बाढी, पहिरो र चटयाङ्का कारण प्रभावित पाँच हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार र सुरक्षित स्थानान्तरणका साथै तयारी खाना वितरणमा सहयोग पु¥याइएको महामन्त्री श्रेष्ठले बताए । हालैको बाढी, पहिरो प्रभावित जिल्लाहरूमा तत्काल राहत वितरण गर्ने गरी नेरेसोका विभिन्न गोदामघरहरूबाट हालसम्ममा रु. दुई करोड १७ लाख एकहत्तर हजार बराबरका गैरखाद्य राहत सामग्रीहरू (कम्बल, त्रिपाल, म्याट्रेस आदि) वितरणका लागि पठाइएको र हालसम्म १ हजार ५ सय ७९ परिवारलाई रु.५० लाख बराबरको नगद र गैरखाद्य राहत सामग्रीहरू वितरण जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष वीरवहादुर बस्नेतले स्वयंसेवक तथा कर्मचारीले रेडक्रसका सात आधारभूत सिद्धान्तलाई सधंै मनन् गरी सेवामा लागिरहनुपर्ने बताए ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)का नेपाल प्रमुख अजमत उल्लाले नेपाल रेडक्रस सोसाइटी र आईएफआरसीको साझेदारीमा विपद् व्यवस्थापन, जलवायु परिवर्तनबाट पर्ने प्रभाव, स्वास्थ्य र महामारीका साथै सामाजिक समावेशीकरण लगायतका क्षेत्रमा देशव्यापीरूपमा गतिविधिहरू सञ्चालन भइरहेको जानकारी गराए ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का नेपाल कार्यालय प्रमुख सन्देश श्रेष्ठले विगतको द्वन्द, भूकम्प र कोभिड महामारीका वेला नेपाल रेडक्रस सोसाइटीसँग मिलेर गरिएको सहकार्यको स्मरण गरे ।

नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले विपद् तथा महामारीका समयमा रेडक्रसका स्वयंसेवकहरूले पु¥याउनु भएको योगदान प्रशंसा गरे । उनले संस्थागत विकासका लागि कर्मचारी र स्वयंसेवकहरू समयानुूुल रूपान्तरण हुनसक्नु पर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रेडक्रसको स्थापना कालदेखि हालसम्म अहोरात्र खटी स्वयंसेवकहरूबाट पु¥याइएको सेवाकाप्रति धन्यवाद व्यक्त गरे । उनले रेडक्रस अभियानमा युवाहरूको भूमिका र योगदानको चर्चा गर्दै हाल देखिएको जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न नेपाल रेडक्रसका युवाहरूद्वारा चेञ्ज मेकर (परिवर्तक) अभियान सञ्चालन भइरहेको जानकारी गराए ।

कार्यक्रममा रेडक्रसका युवा प्रतिनिधिको रूपमा बोल्दै रिमा महर्जनले नेपाल रेडक्रसले आफना गतिविधिहरूमा युवाहरूलाई सहभागी हुने अवसर दिँदै आएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि युवाहरूलाई स्थान दिइने अपेक्षा गरिएको बताइन् । दिवस मूल समारोहको सञ्चालन नेपाल रेडक्रस सोसाइटी मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपानेले गरेका थिए ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी कर्मचारी संघ र कर्मचारी कल्याण कोषद्वारा आयोजित कार्यक्रममा २५ वर्ष काम गरिसकेका कर्मचारीहरूलाई सम्मान, कर्मचारीका छोराछोरीहरूलाई प्रोत्साहन स्वरुप शैक्षिक सहयोग र प्रशंसा पत्र वितरण, दिवसका अवसरमा विभिन्न विधामा आयोजित प्रतियोगिताहरूका विजयी कर्मचारीहरूलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो । साथै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कर्मचारी संघका अध्यक्ष विष्णु तिमिल्सिनाले कर्मचारीहरूको सेवा सुविधा र वृत्ति विकासलाई प्रभावकारी बनाउने तर्फ व्यवस्थापन पक्षको ध्यानाकर्षण गराए । कर्मचारी कल्याण कोषका सभापति अमरमणि पौडेलले कोषमा रहेको रकमको उचित व्यवस्थापन तर्फ सोच्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन कल्याण कोषका उपाध्यक्ष सुशीला ढकालले गरेकी थिइन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका काठमाडौं उपत्यकास्थित जिल्ला शाखाका सभापतिहरू र साझेदार राष्ट्रिय सोसाइटीका प्रतिनिधिहरू र रेडक्रसका कर्मचारीहरूको उपस्थिति थियो ।

You might also like

Comments are closed.