नियामक संस्था प्राधिकरणको अध्यक्ष बन्न ६ जनाको मात्रै आवेदन

काठमाडौं । समस्याग्रस्त सहकारी क्षेत्रको नियमन र सुपरिवेक्षणको जिम्मेवारी पाउने राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बन्ने आकांक्षा अपेक्षा कम देखिएको छ। सरकारले खुला प्रतिस्पर्धाबाट अध्यक्ष चयन गर्न आवेदन आह्वान गरेपनि जम्मा ६ जनाले मात्र आवेदन दिएका छन्।

यो अवस्था सहकारी क्षेत्रमा रहेको समस्याको गहिराइ र उक्त पदमा रहेका चुनौतीप्रति उत्सुकता भन्दा बढी हिच्किचाहट देखिएको संकेतका रूपमा लिइएको छ। नेतृत्वमा आकर्षण नदेखिनु र थोरै मात्र उम्मेदवारले आवेदन दिनु प्राधिकरणको गरिमा होइन, बरु त्यसमा थुप्रिएको दायित्वको भारीतर्फ ध्यान केन्द्रित भएको देखिन्छ।

प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले ११ जेठमा दरखास्त आह्वान गरेको थियो। साउनमा स्थापन भएको प्राधिकरणले हालसम्म पूर्ण संचालक समिति नपाएको अवस्थामा यो प्रक्रिया अघि बढाइएको हो।

आवेदन दिने ६ मध्ये बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का निवर्तमान अध्यक्ष परितोष पौड्याल सबैभन्दा चर्चामा छन्। कतिपयले हाल देखिएको सहकारी संकटमा पौड्यालकै भूमिका रहँदै आएको, उनले गलत अभ्यासलाई संरक्षण गरेको आरोप लगाउँदै आएका छन्।

उनका अतिरिक्त यसअघि नै सोही प्राधिकरणको अध्यक्ष भइसकेका अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेल, राष्ट्र बैंकका वर्तमान निर्देशक डा। हरिकुमार नेपाल, तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगेन्द्र शर्मा, र राष्ट्रपति कार्यालयमा निर्देशकको रूपमा कार्यरत अनिल पौडेलले पनि अध्यक्ष पदका लागि आवेदन दिएका छन्।

छ जनाको सूचीमा तीन जना उम्मेदवार ‘पौडेल’ थरका परेकाले यसले थप रोचकता निम्त्याएको छ। हालै डा। विश्वनाथ पौडेलको अप्रत्यासित रूपमा नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्तिपछि ‘पौडेल’ थरले सार्वजनिक चासो पाएको थियो।

सिफारिस समितिका अनुसार विज्ञ सदस्य पदमा भने हालसम्म पाँच जनाले मात्र आवेदन दिएका छन्। गत माघमा स्थापना भएको प्राधिकरणको पूर्ण संरचना निर्माणका लागि अहिले संचालक समिति गठनको प्रयास भइरहेका बेला कम आवेदन आउनुले नेतृत्वमा आस्थाको संकट देखिएको विश्लेषण भइरहेको छ।

हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा प्राधिकरणको निमित्त अध्यक्षको भूमिकामा रहेका छन्। अब सिफारिस समितिले प्राप्त आवेदकहरूमध्येबाट योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछ।

 

You might also like

Comments are closed.