काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै युवालाई हातमा सीप दिएर दक्ष जनशक्ति बनाएर रोजगारी सिर्जना गर्नुपर्ने बताएकी छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभीटी) को ३५ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताइन् ।
मन्त्री शर्माले भनिन्, ‘देशलाई सीपयुक्त जनशक्ति आवश्यक छ, त्यसैले सरकारले बजेटमा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ, सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको छ ।’ हातमा सीप भएका जनशक्ति नेपालमा धेरै रहेको चर्चा गर्दै उनले पढाइलाई मात्रै नभई अनौपचारिक शिक्षाका रूपमा हातमा सीप भएका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
अन्य विषय पढ्न नसक्ने मात्रै प्राविधिक शिक्षा पढ्न सिटीइभीटी आउँछन् भन्ने भ्रम रहेकाले त्यो भ्रमलाई चिर्नु आवश्यक रहेको बताउदै उनले अब नेपालको शिक्षामा पढ्दै कमाउँदै भन्ने नीतिलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइन् ।
सिटीइभीटीबाट एउटै विद्यालयमा प्राविधिक शिक्षाका १० वटा कार्यक्रम लैजाने प्रतिस्पर्धा चलेको भन्दै उनले त्यसरी धेरै कार्यक्रम एउटै विद्यालयले लैजानुभन्दा थोरै कार्यक्रम लैजाने र गुणात्मक शिक्षा दिनुपर्ने बताइन् ।
सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको जनाउँदै देश संघीयतामा गए पनि शिक्षा ऐन भने पुरानै भएकाले छिट्टै शिक्षा ऐन ल्याउन सरकार लागेको उनले बताइन् ।कर्मचारीलाई उनले अधिकार पनि खोजौँ तर आफ्नो कर्तव्यलाई नभुलौँ भन्दै कर्मचारीले आफ्नो कर्तव्यलाई सधैँ निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
नेपालको जनशक्ति धमाधम बाहिरिँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले नेपालमै बसेर पनि आम्दानी गर्न सक्ने भएकाले शिक्षाका अगुवाले विदेशिनुको कारण खोज्नुपर्ने बताइन् ।
Comments are closed.