रत्नपार्कमा सुनचाँदी व्यवसायीको रिले अनशन २१औं दिनमा, विलासिता कर खारेजीको माग

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको रिले अनशन रत्नपार्कमा २१ दिनदेखि जारी रहेको छ। व्यवसायीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट लागू गर्ने घोषणा गरेको छ। संघर्ष समितिले यस्तो निर्णयले व्यवसायमा ठूलो असर पार्ने बताएको छ।

व्यवसायीहरूले नगद सरह सम्पत्ति व्यवस्थालाई कानुनी रूपमा कार्यान्वयन गर्न, हिरा, जवाहरात तथा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न, कोटा प्रणाली हटाएर २५, ५० र १०० ग्रामका सुनका टुक्रा पान नम्बर र कर चुक्ताको आधारमा सजिलै खरिद गर्न पाउने व्यवस्था मिलाउन माग गरेका छन्।

साथै, उपभोक्ता, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन तथा कानुन निर्माण गर्न समेत माग राखिएको छ। संघर्ष समितिले सरकारले आफ्ना माग पूरा नगरेमा आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.