लकडाउन अवधीमा घरभाडा नमाग्न अपिल

 

पोखरा ।

पृथ्वी होटल व्यवसायी समिति पोखराले लकडाउनको समयमा घरभाडा नमाग्न अपिल गरेको छ । समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले शुक्रबार विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बन्द अवस्थामा रहेका होटल व्यवसायीहरुलाई घरभाडा नमाग्न अपिल गरेका हुन् ।

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विषम परिस्थितिलाई बुझेर एकाध बाहेक अधिकांश घरधनीले घरभाडा नमागेकोप्रति धन्यवादसहित आभार व्यक्त गर्दछौं, र आगामी दिनमापनि लकडाउनभरी र त्यसपछि पनि व्यवसाय सहज सञ्चालन नहुञ्जेलसम्म घरभाडा नमाग्न घरधनी ज्यूहरुलाई हार्दिक अपिल गर्दछौं ।’ घरभाडा तिर्नु व्यवसायीको कर्तव्य हो,विज्ञप्तीमा भनिएको छ,‘तर चैत महिनाको शुरुदेखि नै होटल व्यवसायहरु सञ्चालन भएका छैनन्, यस्तो परिस्थितिमा व्यवसायीले घरको भाडा, बिजुलीको महसुल, पानीको महसुल आदि तिर्नसक्ने अवस्था छैन ।’

लकडाउन अवधीसम्मको घरभाडा पूर्ण रुपमा छुट दिन आग्रह गर्दै समितिले विगतदेखि नै घरधनी र व्यवसायीबीच नङ र मासुको सम्बन्ध रहँदै आएको र यस विषम परिस्थितिमा पनि उक्त सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले कोरोनाबाट बचेर जीवन रक्षा गर्नु नै अहिलेको मुख्य कुरा भएकाले सामाजिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, बारम्बार साबुन पानीले हात धुन र आवश्यकताा अनुसार सेनिटाइजरको प्रयोग गर्न सर्वसाधारण सबैमा अपिल गरेको छ ।

समितिमा पोखराका २५० भन्दा बढी होटलहरु आबद्ध छन् ।

You might also like

Comments are closed.