फागुनसम्म ७ खर्ब ५१ अर्ब राजस्व संकलन, खर्च कति पुग्यो ?

काठमाडौं ।  सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा भने ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।मन्त्रालयका अनुसार समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र भन्सार महसुल तर्फ राजस्व संकलन बढेको छ । तर आयकर र ब्याजकर जस्ता केही शीर्षकमा भने अघिल्लो वर्षको तुलनामा संकलन घटेको देखिएको छ।

फागुनसम्म आयकरतर्फ १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने १ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ संकलन भएको थियो । त्यस्तै ब्याजकरतर्फ १९ अर्ब ५१ करोड रुपैयाँ मात्र संकलन भएको छ, जबकि गत वर्षको फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ उठेको थियो ।

यता भन्सार महसुलतर्फ १ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ संकलन भएको छ भने मूल्य अभिवृद्धि करतर्फ २ खर्ब २५ अर्ब ५३ करोड रुपैयाँ उठेको मन्त्रालयले जनाएको छ । सरकारले फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

आठ महिनामा ९ खर्ब २६ अर्ब खर्च

सरकारले चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब २६ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

चालुतर्फ छुट्याइएको ११ खर्ब ८० अर्ब रुपैयाँ बजेटमध्ये हालसम्म ६ खर्ब ४२ अर्ब रुपैयाँ खर्च भएको छ । तर पुँजीगत खर्च भने निकै कमजोर देखिएको छ । पुँजीगततर्फ विनियोजन गरिएको ४ खर्ब ७ अर्ब रुपैयाँ बजेटमध्ये सरकारले हालसम्म ७८ अर्ब रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।

त्यस्तै सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानीका लागि छुट्याइएको ३ खर्ब ७५ अर्ब रुपैयाँमध्ये हालसम्म २ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । मन्त्रालयका अनुसार पछिल्लो समय विदेशी मुद्रामा देखिएको उतारचढावले ऋण व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ ।

You might also like

Comments are closed.