पोखरा । राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख अनुसन्धान अधिकृत सुवास श्रेष्ठले राजश्व चुहावट रोक्नका लागि नागरिककै तर्फबाट सक्रिय सहयोग आवश्यक रहेको बताएका छन् । उनले कानूनको परिपालना गर्नु र गराउन प्रत्येक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै कर चुहावट रोक्नु पनि नागरिक जिम्मेवारीको हिस्सा भएको बताए ।
पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा राजश्व अनुसन्धान कार्यालय बुटवलले शुक्रबार पोखरामा आयोजना गरेको “राजश्व चुहावट नियन्त्रणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम” मा बोल्दै श्रेष्ठले भने, “राज्यले लागू गरेका नीति र नियमको पालना गर्नु नागरिकको कर्तव्य हो । कर छली अपराध हो र राज्यले त्यस्ता व्यक्तिलाई छुट दिंदैन। तर, व्यवसायीलाई दुःख दिएर होइन, सहजीकरणमार्फत नै राजश्व चुहावट रोक्न हामी प्रयत्नशील छौं ।”
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले राजश्व अनुसन्धानका नाममा व्यवसायीलाई आतंकित पार्ने काम नगर्न आग्रह गरे । “हामी अनुसन्धान नगर्नुहोस् भन्ने होइन, तर व्यवसायीलाई बदनाम पार्ने र डराउने वातावरण बनाउन हुँदैन,” उनले भने । “भन्सारमै चोरी नियन्त्रण गरी सामानमा राजश्व तिर्ने प्रणाली बलियो बनाएमात्र राज्यको आम्दानी बढ्छ र वास्तविक व्यवसायीले न्याय पाउँछन् ।”
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुलीले चोरी निकासीबाट आएका सामान नियन्त्रण गर्न जोड दिँदै व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्ने बताइन् ।
यसै क्रममा राजश्व अनुसन्धान कार्यालय बुटवलका लेखा प्रमुख निमराज भट्टराईले कपडा, मोटर पार्टस्, इलेक्ट्रोनिक्स, मदिरा लगायतका वस्तुमा कर छल्ने प्रवृत्ति देखिएको बताए । उनले गिट्टी–बालुवा व्यापारी, जग्गा कारोबारी, भन्सार एजेन्ट, वकिल, म्यानपावर सञ्चालक लगायतले पनि कम आयकर तिर्ने प्रवृत्ति देखिएको उल्लेख गरे ।
कतिपय अवस्थामा कर प्रशासनका कर्मचारीसँग मिलेमतो गरी कम राजश्व तिर्ने चलन रहेको स्वीकार गर्दै उनले राजश्व चुहावट गर्नेहरूमाथि राजश्व चुहावट ऐन, २०५२ अनुसार कारवाही हुने चेतावनी दिए ।
राजश्व अनुसन्धान कार्यालयका दीपेन्द्र श्रेष्ठले नेपाल सरकारले लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (VCTS) को महत्वबारे जानकारी दिँदै सामान ढुवानीका क्रममा असावधानीले जरिवानामा पर्न सक्ने भएकाले व्यवसायीहरू सचेत रहनुपर्ने बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, लेखनाथ संघका उपाध्यक्ष विक्रम कर्माचार्य, संघका उपमहासचिव सुदीप प्रधानाङ्ग, सदस्यहरू टीकाराम सुवेदी र सूर्यराज घिमिरे, सुनचाँदी व्यवसायी दुर्गा सुनार, तथा व्यवसायी लक्ष्मण श्रेष्ठलगायतले पनि आफ्ना जिज्ञासा राखे ।
उनीहरूले अनधिकृत व्यवसाय नियन्त्रणमा राज्य चुकेको आरोप लगाउँदै भन्सार छलीका सामानहरू बजारमा खुलेआम बिक्री हुँदा कर तिरेर व्यवसाय गर्नेहरू अन्यायमा परिरहेको गुनासो गरे। कपडा व्यवसायी लक्ष्मण श्रेष्ठले भने, “बजारमा चोरी र भन्सार छलीका सामान छ्यापछ्याप्ती छन्। त्यस्ता सामान बेच्नेहरूले बिल नदिने, नलिने दुवै गर्छन्, जसले वैधानिक व्यवसायीलाई मारमा पारेको छ ।” उनले स्थायी लेखा नम्बर (PAN) लिई काम गर्ने तर वास्तविक कारोबार नदेखाउने प्रवृत्तिले राज्यलाई ठूलो हानि पुगेको बताए ।
श्रेष्ठका अनुसार, भन्सार नाकाबाट मात्रै दैनिक करिब चार करोड रुपैयाँ राजश्व गुमाइँदै आएको अनुमान गरिएको छ । उनले सीमा क्षेत्रमा नियन्त्रण कमजोर हुँदा वैध व्यवसायी टेकेर बस्न नसक्ने अवस्था सिर्जना भएको बताए ।
त्यस्तै, व्यवसायी सूर्यराज घिमिरेले अनलाइन व्यवसायको नाममा समेत राज्यले ठूलो राजश्व गुमाइरहेको भन्दै अनलाइन कारोबारलाई करको दायरामा ल्याउनुपर्ने माग गरे । कार्यक्रममा सहभागी व्यवसायी र राजश्व अधिकारीहरूले राजश्व प्रणाली सुधार, पारदर्शिता, अनुगमन र सहजीकरणका माध्यमबाट कर छल रोक्ने र वैध व्यवसायीलाई प्रोत्साहन गर्ने साझा प्रतिवद्धता जनाएका थिए ।








Comments are closed.