चितवन । एनआईएमबीएस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म तथा केयर एज रेटिङ्स नेपालको सहकार्यमा चितवनमा “Road To IPO & Credit Rating” कार्यक्रम सम्पन्न भएको छ । गत मंसिर ५ गते नेप्लिज यंग इन्ट्रप्रेन्योर्स फोरम (NYEF) चितवनको आयोजनामा सम्पन्न उक्त कार्यक्रम उद्यमी तथा व्यवसायीहरूलाई आईपीओ प्रक्रिया, क्रेडिट रेटिङ तथा वित्तीय साक्षरताबारे मार्गदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रममा NYEF चितवनका अध्यक्ष तथा F.C.A. निशान पौडेलले स्वागत मन्तव्य राख्दै नयाँ उद्यमीको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए । एनआईएमबीएस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुँगानाले आईपीओका रणनीतिक योजना तथा तयारीसम्बन्धी वर्कशप सञ्चालन गरे ।
उनले सूचीकरण प्रक्रियाका आवश्यक पक्ष, नेपालको हालको आईपीओ बजार अवस्था तथा उद्यमीहरूले प्रायः दोहोर्याउने त्रुटिबारे विस्तृत जानकारी दिए । पायोनियर ल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनका कानुनी पक्षबारे प्रस्तुति दिँदै नियामकीय प्रक्रिया, कानुनी प्रावधान र अनिवार्य अनुपालनका उपायहरूबारे स्पष्ट पारे ।
यसैगरी, केयर एज रेटिङ्स नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले क्रेडिट रेटिङको दृष्टिकोण प्रस्तुत गर्दै कम्पनीको वित्तीय सबलता, सुशासन र व्यवस्थापन अभ्यासले रेटिङमा पार्ने प्रभावबारे प्रकाश पारे ।
साथै, क्रेडिट रेटिङले लगानीकर्ताको विश्वास र बजार धारणामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । आयोजकका अनुसार चितवनका उद्यमी तथा व्यवसायीहरूले यस कार्यक्रमबाट महत्वपूर्ण ज्ञान तथा मार्गदर्शन प्राप्त गरेका छन् ।




Comments are closed.