विराटनगर । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामले मोरङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिनस्वीप’ गरेको छ । मोरङका सबै ६ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका हुन् ।
मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपानेले २७ हजार ३६७ मत प्राप्त गरी विजय हासिल गरे । उनले नेपाली कांग्रेसका खड्गबहादुर फागोलाई १५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । फागोले ११ हजार ९८६ मत प्राप्त गरे । श्रम संस्कृति पार्टीका शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गर्दा नेकपा (एमाले) का घनश्याम खतिवडाले ९ हजार ८२३ मत पाए ।
मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्कीले ४० हजार १२४ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजाललाई पराजित गरे । रिजालले १२ हजार ६४४ मत मात्रै प्राप्त गर्न सके। कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी रहेका रिजाल यसअघि उक्त क्षेत्रमा उम्मेदवार थिएनन्। अघिल्लो निर्वाचनमा भने सो क्षेत्र एमालेले जितेको थियो ।
मोरङ–३ मा रास्वपाका गणेश कार्कीले ३६ हजार ९२४ मत ल्याएर नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई पराजित गरे । यसअघिका सांसद तथा लोकप्रिय नेताका रूपमा चिनिने मेडिकल डाक्टर शर्माले २४ हजार ३५४ मत प्राप्त गरे ।
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी कांग्रेसका गुरुराज घिमिरेलाई पराजित गरे । घिमिरेले १२ हजार २८८ मत प्राप्त गरेका थिए । पार्टीका प्रभावशाली नेताका रूपमा चिनिने घिमिरेको हारले कांग्रेसको आधारभूत जनमतमा रास्वपाले ठूलो धक्का दिएको देखिन्छ । घिमिरे कांग्रेसका महामन्त्री हुन् र पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
मोरङ–५ मा रास्वपाकी आशा झाले ३० हजार ४३४ मतसहित विजय हासिल गरिन् । उनले नेपाली कांग्रेसका फुलकुमार लालवानीलाई १६ हजार मतान्तरले पछि पारिन् । लालवानीले १४ हजार ४५७ मत प्राप्त गरे। यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत, नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मण्डलले ८ हजार ६४४ मत र नेकपा (एमाले) का मनोजकुमार अग्रवालले १ हजार ५४४ मत प्राप्त गरेका थिए ।
मोरङ–६ मा रास्वपाकी रुबिना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गरिन् । कोइरालाले १२ हजार २५० मत मात्रै प्राप्त गरे, जुन आचार्यको भन्दा ४० हजारभन्दा बढी कम हो । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका कोइराला कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासीसमेत थिए ।
अघिल्लो निर्वाचनमा मोरङका ६ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ४ सिट जितेर वर्चस्व कायम राखेको थियो भने बाँकी दुई सिटमध्ये एकमा एमाले र एकमा माओवादी केन्द्र विजयी भएका थिए। तर यसपटक भने कुनै पनि दलले एउटा पनि सिट जित्न सकेनन् ।






Comments are closed.