काठमाडौं । बिहीबार देशभर सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अहिले जारी रहेको छ । प्रारम्भिक नतिजाले देशका विभिन्न क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर देखिए पनि कर्णाली प्रदेशमा भने पार्टी कमजोर देखिएको छ ।
कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये हाल ५ क्षेत्रमा मतगणना जारी छ। ती पाँचवटै क्षेत्रमा रास्वपा पछि परेको छ भने अन्य दलले अग्रता लिएका छन् ।
कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाहीले ४ हजार ६५६ मतसहित अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका हर्षबहादुर बमले ३ हजार ४०७ मतसहित पछ्याइरहेका छन् । एमालेका नगिन्द्र शाहीले ३ हजार १९४ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका खड्गबहादुर विश्वकर्माले २ हजार २९१ मत पाएका छन्। रास्वपाका प्रकाश न्यौपानेले भने ६७८ मत प्राप्त गरेका छन् ।
जुम्लामा पनि रास्वपा कमजोर देखिएको छ। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही ५४१ मतसहित अगाडि छन् । नेकपाका नरेश भण्डारीले ४३५ मत ल्याएका छन् भने कांग्रेसका दीपबहादुर शाहीले १५४ र एमालेका शान्तिलाल महतले ७२ मत पाएका छन् । रास्वपाकी विनीता कठायतले भने ९ मत मात्रै प्राप्त गरेकी छन् ।
सुर्खेत–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले ७९६ मतसहित अग्रता कायम गरेका छन्। रास्वपाका टेकबहादुर सिंह ठकुरी ५४५ मतसहित दोस्रो स्थानमा छन् । एमालेका ध्रुवकुमार शाहीले ४२७ मत ल्याएका छन् भने नेकपाका जितबहादुर रानाले ७७ मत प्राप्त गरेका छन् ।
यस्तै सुर्खेत–२ मा एमालेका कुलमणि देवकोटाले ४७३ मत ल्याएर अग्रता लिएका छन्। रास्वपाका रमेशकुमार सापकोटाले ३५३ मत ल्याएका छन् भने कांग्रेसका नारायणकुमार कोइरालाले ३४१ र नेकपाका झकबहादुर मल्लले २०६ मत पाएका छन् ।
दैलेख–१ मा ५ हजार १७१ मत गणना हुँदा कांग्रेसकी वासना थापा १ हजार ९५९ मतसहित अगाडि छिन् । एमालेका रविन्द्रराज शर्माले १ हजार ४७५ मत ल्याएका छन् भने रास्वपाका नन्दकिशोर बस्नेतले १ हजार २४ मत प्राप्त गरेका छन् । नेकपाका अमरबहादुर थापाले १२९, राप्रपाका रणबहादुर सिंहले ४९ तथा नेकपा माओवादी केन्द्रका रामलाल विश्वकर्माले ४० मत पाएका छन् ।
कर्णाली प्रदेशमा दैलेखका दुई, सुर्खेतका दुई तथा सल्यान, जाजरकोट, रुकुम पश्चिम, मुगु, जुम्ला, हुम्ला, कालिकोट र डोल्पा गरी कुल १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।






Comments are closed.