मतगणनामा रास्वपा हावी, दुईतिहाइको बलियो सम्भावना

काठमाडौं । जेनजी आन्दोलनबाट उत्पन्न राजनीतिक माहोलको लाभ लिन सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभामा दुईतिहाइ बहुमत हासिल गर्ने दिशातर्फ अघि बढेको देखिएको छ । देशभर जारी मतगणनाको प्रारम्भिक परिणामले रास्वपाको पक्षमा  लहर देखाएको हो ।

निर्वाचन आयोगका अनुसार शनिबार साँझ ६ बजेसम्म देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ७३ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । यसमध्ये ५८ सीटमा रास्वपाले जित हात पारेको छ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन पनि रास्वपाको समर्थनमा विजयी भएका छन् ।

हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले ९ सीट, एमालेले ३ सीट तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १–१ सीटमा जीत हासिल गरेका छन् ।

अग्रताको सूचीमा पनि रास्वपा स्पष्ट रूपमा अगाडि देखिएको छ । मतगणना जारी रहेका तथा औपचारिक परिणाम घोषणा हुन बाँकी ८८ निर्वाचन क्षेत्रमध्ये ६३ क्षेत्रमा रास्वपा अग्रस्थानमा रहेको छ । नेपाली कांग्रेस र एमालेले समान ९–९ क्षेत्रमा अग्रता लिएका छन् भने नेकपाले ६ तथा श्रम संस्कृति पार्टीले ३ क्षेत्रमा अग्रता कायम गरेको छ ।

निर्वाचन आयोगका अनुसार बाँकी दुई निर्वाचन क्षेत्रमा भने मतगणना सुरु हुन नसकेको वा प्रारम्भिक परिणाम आउन बाँकी रहेको छ ।

उता समानुपातिकतर्फ पनि रास्वपाले बलियो मत प्राप्त गरेको छ । साँझ ६ बजेसम्मको विवरणअनुसार रास्वपाले कुल मतको ५३ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको देखिएको छ । नेपाली कांग्रेसले करिब १६ प्रतिशत र एमालेले करिब १३ प्रतिशत मत पाएका छन् । नेकपाले करिब ५.५ प्रतिशत र राप्रपाले करिब ४ प्रतिशत मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीले करिब २ प्रतिशत मत मात्रै पाएको देखिन्छ ।

यस आधारमा समानुपातिकतर्फ पाँच दलले मात्रै सीट बाँडफाँट गर्ने सम्भावना देखिएको छ । प्रारम्भिक गणनाअनुसार समानुपातिक प्रणालीबाट रास्वपाले ६३ सीट, कांग्रेसले १९, एमालेले १६, नेकपाले ७ र राप्रपाले ५ सीट पाउन सक्ने अनुमान गरिएको छ ।

यदि यही मतपरिणामको गति कायम रह्यो भने रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवै मिलाएर करिब १८४ सीट हासिल गर्न सक्ने आँकलन गरिएको छ । यस्तो अवस्थामा दुईतिहाइ बहुमत सुनिश्चित गर्न स्वतन्त्र उम्मेदवार महावीर पुनको समर्थन निर्णायक हुन सक्छ ।

कतिपय विश्लेषकहरूले नेपाली सेना र सरकारी कर्मचारीबाट प्राप्त समानुपातिक मतको ठूलो हिस्सा रास्वपाको पक्षमा गएको हुन सक्ने अनुमान गरेका छन् । यदी त्यसो भएको खण्डमा रास्वपाले १८६ सीटसम्म हासिल गर्न सक्ने सम्भावना रहेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले दाबी गर्दै आएका छन् ।

यद्यपि, हाल प्रारम्भिक चरणमा मुख्यतः शहरी क्षेत्रको मतगणना भइरहेको छ । क्रमशः ग्रामीण क्षेत्रको मतगणना सुरु भएसँगै मत परिणामको गति केही परिवर्तन हुन सक्ने सम्भावना पनि विश्लेषकहरूले औंल्याएका छन् ।

तर अहिलेसम्मको परिणामले भने प्रतिनिधिसभामा रास्वपा कम्तिमा पनि दुईतिहाइ नजिक पुग्ने संकेत स्पष्ट रूपमा देखाएको छ ।

You might also like

Comments are closed.